यसरी नजिकिँदै छन कांग्रेस र एमाओवादी, एमाले एक्लिदै

निर्वाचन परिणामपछि संविधानसभामा सहभागी हुनका लागि सर्त अघि सार्दै आएको एमाओवादी र संविधानसभामा ठूलो दल कांग्रेस सहमति निर्माणमा नजिकिन थालेका छन्। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैरराजनीतिक सरकारलाई सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समितिलाई अर्को सरकार गठन नहुन्जेल कायम राख्ने, निर्वाचनमा धाँधली भएको भन्ने एमाओवादी आरोप छानबिनका लागि सहमति गरी संविधानसभाको बैठक सुरु भएपछि आयोग गठन गर्ने विषयमा दुई दल सहमति नजिक पुगेका हुन्। त्यसैगरी नयाँ स्वरूपमा राजनीतिक संयन्त्र बनाउन, संविधानका विवादित विषयमा सहमति जुटाउन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न पनि दुवै दल सहमति नजिक छन्।
koirala and prachandaएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पूर्व पोलिटब्युरो बैठकमा कांग्रेससँग छलफलका क्रममा ती विषय नजिकिएको खुलासा गरेका हुन्। ‘कांग्रेससित सकारात्मक छलफल भइरहेको छ’, बैठकमा दाहालले भने। उनले एमालेसँग भने कुरा मिल्न नसकेको जानकारी बैठकमा गराएको अन्नपूर्ण पोस्टमा खबर छ । निर्वाचन परिणाम सार्वजनिक नहुँदै नीतिगत, संस्थागत र प्रक्रियागत ‘धाँधलीको पुनरावलोकन गर्न’ सरकार तयार नभएमा संविधानसभामै सहभागी नहुने घोषणा गरेका दाहालले संविधानसभा प्रवेशका लागि मार्गप्रशस्त हुन लागेको संकेत बैठकमा दिएका थिए। संविधान निर्माणका लागि संविधानसभाभित्र र बाहिरका दलबीच ‘सेतु’ को भूमिका पछि निर्माण हुने उच्चस्तरीय समितिमार्फत आफैं निर्वाह गर्ने तर्क गर्दै पोलिटब्युरो बैठकलाई आश्वस्त पार्ने प्रयास पनि उनको थियो।
बैठकपछि एमाओवादी नेता वर्षमान पुनले भने, ‘समझदारी निर्माणका विषयमा, उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने र नयाँ राजनीतिक संयन्त्र बनाउने, निर्वाचनमा भएको धाँधली छानबिन गर्ने विषयमा सहमति र समझदारी गर्न कांग्रेस अघि बढ्न खोजेको छ भने एमाले ती विषयमा अवरोध खडा गरिररहेको छ।’ अध्यक्ष दाहालले आफ्नो पार्टीका नेताहरूसँग गरेको ब्रिफिङले केही उपाय निकालेर एमाओवादी संविधानसभामा जाने बाटोमा अघि बढेको विश्लेषण बैठकका सहभागीहरूले गरेका छन्। केही नेताले कांग्रेससँग हुन लागेको भनिएको सहमतिप्रति शंका पनि व्यक्त गरेका छन् ।
बैठकमा नेता कृष्णबहादुर महराले ‘अहिले मिलेर जाऔं भन्ने र पछि सहमति कार्यान्वयन नगरी फसाउन सक्छन्, यसमा ख्याल गर्नु जरुरी छ’ भन्ने धारणा राखेका थिए भने नेता टोपबहादुर रायमाझीले सहमतिबाटै अघि बढ्दा राम्रो हुने तर कार्यान्वयनमा चनाखो हुनुपर्ने तर्क गरेका थिए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘कांग्रेस सबैखाले समस्या उच्चस्तरीय राजनीतिक समितिमार्फत समाधान गर्न चाहन्छ।’
एमाओवादी नेता पोस्टबहादुर बोगटीले खिलराज रेग्मी नेतृत्वको सरकार रहुन्जेल अहिलेकै उच्चस्तरीय समिति कायम रहने र सरकारको विस्थापनपछि नयाँ संयन्त्र निर्माण हुने बताए। ’संयन्त्रको नेतृत्व निरन्तर रूपमा हामीले गर्ने समझदारी बन्दै गएको छ’, उनले भने, ‘त्यस्तो संयन्त्रले संविधान निर्माणमा सहमति जुटाउने काम गर्नेछ। सरकारका विषयमा चासो राख्दैन।’ प्रवक्ता अग्नि सापकोटाका अनुसार पुस ९ गतेदेखि हुने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.