एसएलसीलाई गुणस्तरीय बनाउन सेन्टप टेस्ट आवश्यक

शिक्षा विभागले एसएलसी टेस्ट परीक्षा सञ्चालन नगर्नका लागि निर्देशन दिए पनि अभिभावक एवम् सरोकारवालाहरुले विद्यार्थीको गुणस्तरीयता मापनका लागि एसएससीपूर्वको परीक्षा आवश्यक हुनेमा जोड दिएका छन् ।
सरकारले दुई वर्षअघि नै खारेज गरेको टेस्ट परीक्षालाई संस्थागत विद्यालयहरुले एसएलसी परीक्षा तयारीका नाउँमा परीक्षा लिन लागेको भन्दै त्यसका नाउँमा विद्यार्थीलाई उत्तीर्ण-अनुत्तीर्ण गराउने कुनै किसिमको परीक्षा सञ्चालन नगर्न शिक्षा विभागले निर्देशन दिएको छ ।
विद्यार्थीहरुलाई एसएलसी परीक्षाको तयारीका लागि पूर्वपरीक्षा लिनुपर्ने कलङ्कीमा बसोबास भएका अभिभावक एवम् स्थानीय समाजसेवी गोविन्दप्रसाद पौडेलको भनाइ छ । टेस्ट परीक्षा नलिने नाउँमा विद्यार्थीलाई पूर्वपरीक्षा बिना नै अन्तिम परीक्षामा पठाउने कुरा विद्यार्थीहरुको हितमा नहुने पौडेलले बताउनुभयो ।
पूर्वपरीक्षा बिना एसएलसीमा सहभागी गराउनु सरकारको अव्यावहारिक नीति रहेको सरस्वती बहुमुखी क्याम्पस ठमेल काठमाडौँका सहायक क्याम्पस प्रमुख खोमराज खरेल बताउनुहुन्छ ।
खरेलका अनुसार विश्वका अन्य शैक्षिक संस्थाका विद्यार्थीसँग जुध्न सक्ने बनाउनुपर्ने राज्यको लक्ष्य हुनुपर्ने भए पनि पूर्वपरीक्षा बिना नै एसएलसीमा पठाउनुले त्यसबाट विद्यार्थीहरुको परीक्षाको तयारीमा पनि असर पर्न जान्छ ।
विद्यार्थीलाई परीक्षामा आफ्नो तयारीका साथै उसको आत्ममूल्याङ्कनका लागि पनि एसएलसी परीक्षा आवश्यक छ, उहाँले बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनले सरकारको नियमकानुनभित्र रहेर एसएलसीपूर्वको तयारीका लागि एसएलसी योग्यता परीक्षा लिनुपर्ने जनाउँदै आएको छ ।
प्याब्सनका केन्द्रीय सदस्य पुष्कलराज पन्त्ाका अनुसार प्याब्सनले विद्यार्थीहरुलाई एसएलसीको पूर्वतयारीका लागि सरकारको निर्धारित कानुनभित्र नै रहेर योग्यता परीक्षा लिने तयारी गरेको छ ।
पछिल्ला वर्षमा एसएलसी परीक्षामा आएको कमजोर नतिजाले पनि यसलाई पुष्टि गर्ने अभिभावकहरुले बताएका छन् । गुणस्तरीयता कायम गर्नका लागि विद्यालयहरुमा लिन लागिएको एसएलसी पूर्वतयारी परीक्षाका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने उनीहरुको राय रहेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.