रेलको लिक राख्न नेपाल-भारतका प्राविधिकद्वारा सर्भे
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ब्रोडगेज निर्माण गर्नेक्रममा नेपाल-भारतका इन्जिनियरहरुको संयुक्त टोलीले धनुषाको महुवामा संयुक्त सर्भेक्षण गरेको छ ।
पूर्वी धनुषाको महुवा गाउँ विकास समति-४ स्थित हनुमान मन्दिरदेखि जनकपुर नगरपालिका-१६ स्थित माता चण्डीमाता फुलमन्ती देवी स्थान (करिब एक किलोमिटर) सम्मको दूरीमा सिधा रेल लिक राख्नेबारे संयुक्त सर्भे गरिएको हो ।

सो क्षेत्रमा बढी घुम्ती भएकाले ठूलो तथा सुविधासम्पन्न रेललाई आवतजावत गर्न समस्या हुने भएकाले सिधा रेल लिक बिछयाउन सो सर्भे गरेको प्रतिनिधिको भनाइ छ ।
सो सर्भे टोलीमा नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर टेकराज बोहरा तथा भारत सरकारको ठेकेदार कम्पनी इरकनका इन्जिनियर अरुणकुमार प्रभाकरसहितका प्राविधिकहरु संलग्न हुनुहुन्थ्यो ।
भारतको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज लिक बिछ्याइँदैछ । पहिलो चरणअन्तर्गत ६० करोड भारतीय रुपैयाँको लागतमा पुलपुलेसा निर्माण तथा माटो भर्ने काम हुनेछ ।
0 comments
Write Down Your Responses