खेलकुद
»
विमलको ट्रायल 'सुखद
विमलको ट्रायल 'सुखद

सिनियर राष्ट्रिय टिम र यू-१६ का फरवार्ड विमल घर्तीमगरले नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब ट्वेन्टेमा बिताएको 'ट्रायल' अवधि राम्रो अनुभव भएको बताएका छन् ।
डच क्लबमा १२ दिन बिताएर बिहीबार काठमाडौं फर्केलगत्तै आयोजित पत्रकार सम्मेलनमा विमलले भने, 'त्यहाँ उच्चस्तरको सुविधामा गरेको ट्रेनिङले व्यक्तिगत रूपमा आत्मविश्वास बढाएको छ । अभ्यासमा दुई खेल खेलें ।
पहिलो अभ्यास खेलमा राम्रो गर्न सकिनँ । दोस्रोमा राम्रो खेलें ।' उनले दोस्रो अभ्यास खेलमा चार गोल गरेका थिए ।
ट्वेन्टेमा विमल र बंगलादेश यू-१९ का कप्तान हेमन्तोका निम्ति ट्रायलको अवसर मिलाएका डच प्रशिक्षक रेने कोस्टरले भने, 'यू-१७ र यू-१९ को ट्रेनिङमा विमलले निरन्तर सुधार गर्दै राम्रो गरे । त्यसैले उनीसँग यू-१७ का प्रशिक्षक सकारात्मक छन् । प्रशिक्षकले क्लबमा रिपोर्ट बुझाइसकेका छन् । त्यसैले चाँडै विमलको भविष्य टुंगो लाग्नेछ ।'
बंगलादेशका सहायक प्रशिक्षक रहेका कोस्टरका अनुसार विमलले व्यावसायिक अनुबन्ध वा एकेडेमीमा अवसर पाउने सम्भावना न्यून छ । 'युरोपबाहिरकालाई ३-३ महिनाको मात्र भिसा दिने भएकोले एकेडेमीमा आउँदै-जाँदै गर्न गाह्रो छ । नेदरल्यान्ड्समा व्यावसायिक अनुबन्ध खेलाडी १८ वर्षको भएपछि मात्र हुन्छ,' उनले भने । एन्फाका अनुसार १५ वर्षका विमलको कौशल युरोपेली स्तरकै भएकाले उनले ट्वेन्टेमा नभए पनि अन्य क्लबमा ट्रेनिङको अववसर पाउने कोस्टरले बताए ।
Labels:
खेलकुद
0 comments
Write Down Your Responses