सरकारी जागिर नेपालको, स्थायी बसोबास विदेशको !
डीभी परेपछि नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) जगदीश पोखरेल केहीअघि राजीनामा गरी परिवारसहित अमेरिका बसाइँ सरे । प्रहरीमा कुशल अधिकृतमा दरिने उनी राजीनामा गर्ने बेला महाराजगन्ज वृत्तको प्रमुख थिए । ‘मेरो नजरमा राम्रा र उज्जल भविष्य भएका अफिसर भएकाले नजाऊ भने,’ मुख्यसचिव लीलामणि पौडेलले भने, ‘उनले जाने मनस्थिति बनाईसकेका रहेछन् ।’ प्रहरी उपरीक्षक (एसपी) दिवस उदास डीभी परेपछि राजीनामा गरी हिँडे । निरीक्षक (इन्स्पेक्टर) विनोद खरेलले हालै जागिर छाडे ।

मुख्यसचिव लीलामणि पौडेलले ३ महिनाअघि सबै मन्त्रालयलाई विदेशमा स्थायी बसोबासको अनुमति लिए पनि जागिर खाइरहेका कर्मचारीको नाम संकलन गर्न सर्कुलर गरेका थिए । नामावली प्राप्त भए बसोबासको अनुमति दिने मुलुकको कूटनीतिक नियोगसँग भेरिफाइ गरी ठेगाना लगाउने उनको योजना थियो । ‘मन्त्रालयहरुबाट एकजनाको पनि नाम आएन,’ मुख्यसचिव भन्छन् ।
ग्रिनकार्ड वा पीआर लिएको कुरा कसैले स्वीकार नगर्ने र अरुले भनेको भरमा लेख्न गाह्रो परेको सचिवहरुले बताएका छन् । गतवर्ष मानवता विरुद्धको अपराधमा सेनाका कर्णेल कुमार लामा लन्डनमा समातिएपछि उनी मतदानबाहेकका सबै अधिकार पाउने बेलायती नागरिक भइसकेको खुलासा भएको थियो । लामा प्रकरणका साथै एउटा कन्सल्टेन्सीले जागिर नेपालमा घर क्यानडामा भन्दै पीआरको लागि आवेदन गर्न विज्ञापन गरेपछि मुख्यसचिब तातेको खबर छ ।
केही नाम अनौपचारिक रुपमा आएपनि उनीहरुमाथि के गर्ने भन्ने बारे अहिलेसम्म टुंगो लागेको छैन् ।
0 comments
Write Down Your Responses