ल्हारक्याल लामाको करोडौं डुब्ने खतरा एमाओवादीमा सुरु भो समानुपातिक सभासदको लफडा

एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फका सभासद छनोटको तयारी शुरु गरेको छ । मंगलबार विहान ३ दलवीच ४ बुँदे सहमति भएपछि दिउँसो एओवादी नेताहरु पेरिसडाडाँमा बैठकमा जुटेका छन् ।राजधानीमा उपलब्ध पूर्वपोलिटब्यूरो सदस्य तथा इञ्चार्जहरुको बैठकले चारबुँदे सहमतिलाई अनुमोदन गर्नुका साथै समानुपातिक सभासद छनोटको गृहकार्य थाल्ने एक नेताले बताए ।Lharkyal-Lama-300x225
सोमबार बिहान बबरमहलमा आयोजित तीन दलको बैठकमा कांग्रेस र एमालेका नेताहरुले अडान नछोडेपछि अपरान्ह पेरिसडाडाँमा एमाओवादी नेताहरु बैठकमा जुटेका थिए । सोही बैठकलाई मंगलबार पनि निरन्तरता दिइएको हो ।
ल्हारक्याल लापत्ता भएपछि लगानी डुब्ने खतरा
यसैवीच करोडभन्दा माथि रकम बुझाएर एमाओवादीको समानुपातिक सूचीमा नाम चढाउन सफल भएका पूर्वएमाले नेता ल्हारक्याल लामा केही दिनयता अर्धभूमिगत बनेका छन् । पुनः सभासद बन्न चुनावअघि एमाले नेता माधव नेपाललाई पैसाको आश्वासन बोकेर पुगेका लामालाई एमाले नेता नेपालले ठाडै अस्वीकार गरेर पठाएपछि उनी एमाओवादीमा पुगेका थिए ।
एमाओवादीले उनलाई पैसा लिएर मुस्ताङकी टासी स्याङ्मो गुरुङसेनीसँगै पार्टी प्रवेश गराएर सभासदको सूचीमा राखेको थियो । एमालेकी पूर्वसभासद गुरुङसेनी चुनावमा मुस्ताङमा एमाओवादीको चुनाव प्रचारमा खटेकी थिइन् । चुनावपछि गुरुङसेनीले प्रचण्डलाई भेट गरेर रिपोटिङ गरिसकेकी छन् । तर, ल्हारक्याल भने चुनावदेखि नै सम्पर्कमा छैनन् ।’ल्हारक्याल दाइ त नेपालमै हुनुहुन्न जस्तो छ, फोन गर्दा पनि उठ्दैन, मेरो भेटै हुन पाएको छैन ।’ ल्हारक्यालसँगै एओवादीमा प्रवेश गरेकी गुरुङसेनीले भनिन् ।
आफूले गरेको ठूलो लगानी उठाउने र सभासद बन्न लविङ गर्ने बेलामा ल्हारक्याल लापत्ता भएपछि एमाओवादीलाई उनको पैसा पचाउन सहज भएको स्रोत बताउँछ । अर्कोतर्फ ल्हारक्याललाई समानुपातिकको सूचीमा राखेको विषयमा पार्टीभित्रै चर्को आलोचना भएकाले उनलाई ५४ सभासदको सूचीमा पार्न प्रचण्डलाई सहज देखिँदैन ।
‘चैते’ निराश, भ्रष्टाचारीहरु आशावादी
एमाओवादी ठूलो पार्टी बन्छ र सभासद हुन पाइएला भनेर निर्वाचनको मुखमा एमाओवादीमा छिरेर सूचीमा नाम चढाउन भ्याएका ‘चैते’हरु पार्टीले ५४ सीटमात्रै हात पारेपछि निराश देखिएका छन् । आफू सभासदको छनोटमा नपरिएला भन्ने चिन्ता उनीहरुमा देखिएको हो । तैपनि कतिपय नवप्रवेशीहरु प्रचण्डलाई भेट्ने समय मागिरहेका छन् ।
अर्कातिर लडाकूको करोडौं रकम भ्रष्टाचार गरेको अभियोग लागेर एकपटक राजीनामा समेत दिइसकेका पूर्वलडाकू कमान्डरहरु भने घुर्की लगाएर भए पनि सभासद् बन्ने दाउमा छन् । पूर्वलडाकू कालीबहादुर खाम, धनबहादुर मास्कीलगायतका छानविनको दायरामा परेकाहरु पनि एमाओवादीको समानुपातिक सूचिमा छन् ।
तोकिएन प्राथमिकता
एमाओवादीले अहिलेसम्म ५४ जना सभासदहरु कुन आधारमा छान्ने भन्नेबारे मापदण्ड बनाएको छैन । निर्वाचन कानून आफैंले तोकेको निर्धारणअनुसार २७ जना महिला, १८ जना जनजाति, ७ जना दलित, १६ जना मधेसी र २ जना पिछडिएको क्षेत्रबाट छान्नुपर्ने बाध्यता छ । तर, यो कानूनी मापदण्डबाहेक एमाओवादीले आन्तरिक मापदण्ड बनाएको छैन ।
संविधानसभामा संघर्ष गर्न सक्ने नेताहरुलाई प्राथमिकता दिन सकिने स्रोत बताउँछ । तर, पुराना दोहोरिने नयाँले अवसर नपाउने सम्भावना पनि छ ।
संविधानसभामा प्रभावशाली भूमिका खेल्न सक्ने लीलामणि पोख्रेल, वर्षमान पुन, पोष्टबहादुर बोगटी, रामचन्द्र झा र उर्मिला अर्यालहरु प्रत्यक्षतर्फ पराजीत भएकाले सब कोटा पुर्‍याउनेतर्फमात्रै जोड दिइयो भने संविधानसभामा प्रभावशाली भूमिका खेलन नसकिने एमाओवादी नेताहरु बताउँछन् । तर, पहिले पनि चुनाव नलडी समासद बनेर मन्त्रीसमेतछ खान भ्याएका केही नेतालाई यसपालि पनि निरन्तरता दिन नहुने आवाजसमेत पार्टीभित्र उठिरहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार एमाओवादीले सभासदको सूची बुझाउने अन्तिम दिन बुधबार नामहरुलाई अन्तिमरुप दिने भएको छ । तर, एमाओवादीभित्र अन्य समूहका नेताहरु सभासद छनोटमा प्रचण्डले आफूखुशी गोजीबाट नाम झिक्न सक्ने त्राशमा छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.