तीन दलबीच ४ बुँदे सहमति ३ बजे उच्चस्तरीय समितिको बैठक बस्ने
प्रमुख तीन दलबीच चार बुँदे सहमति भएको छ । दलहरुबीच संविधानसभाबाट निर्वाचनमा भएको धाँधलीका बारेमा अनुगमन गर्न आयोग गठन गर्ने, संविधानसभामा भएका र बाँकी रहेका दलहरुलाई समेटेर उच्चस्तरीय समिति बनाउने, ६ महिनाभित्रै संविधानको मस्यौदा तयार पारी एक वर्ष भित्रमा संविधान जारी गर्ने र मेलमिलाप आयोग गठन गर्ने विषयमा सहमति भएको एमाले नेता रघुजि पन्तले जानकारी दिनुभयो ।
बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बसेको तीन दलको बैठकमा मोटामोटी सहमति भएको भन्दै पन्तले आज दिउँसो ३ बजे उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेर सहमतिका बुँदालाई अन्तिम रुप दिने निर्णय भएको बताउनुभयो ।
त्यस्तै कांग्रेस उपसमापति रामचन्द्र पौडेलले दलहरु सहमति नजिक पुगेको बताउनुभयो । उहाँले प्रमुख तीनदलले चार बुँदे सहमति गरेको त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको बताउनु भयो । दलहरुबीचको विवाद अन्त्य हुन सकारात्मक कुरा भएको भन्दै पौडेलले विवाद अन्त्य गर्न लागेका दलहरुले समानुपातिक सभासद्को नामावली छान्न समय नपाएको र आपसी समझदारीमा केही दिन थप्न लगाउने विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses