तीन दशकपछि ब्वाइज युनियन फाइनलमा

काठमाडौ, मंसिर ३० - फुटबलले पस्कन सक्ने सबै खाले रोमाञ्चकता र सनसनीले भरिएको खेल जित्दै ब्वाइज युनियन शनिबार एनसेल कपको फाइनल पुगेको छ । उसले सडनडेथमा आर्मीलाई हरायो । निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा छुटेपछि ब्वाइज युनियन टाइब्रेकरमा ५-४ ले विजयी रहेको हो ।
ब्वाइज युनियन ठूलो प्रतियोगिताको फाइनल पुगेको तीन दशकयता पहिलोपल्ट हो । यसअघि ०४० सालमा ब्वाइज युनियनले गुवाहाटी स्पोर्ट्स क्लबलाई हराएर बर्थ-डे कप जितेको थियो । त्यतिबेला ब्वाइज युनियनबाट भारतीय राष्ट्रिय टिमका स्टार खेलाडी श्याम थापालगायत अरू प्रमुख खेलाडीले खेलेका थिए ।
'सानो क्लबका लागि यो ठूलो उपलब्धि हो,' ब्वाइज युनियन प्रशिक्षक विजय महर्जनले भने, 'हाम्रा लागि सपना पूरा भए जस्तै भएको छ । एक पुस्ताको अन्तरपछि ब्वाइज युनियनमा खुसी फर्केको छ ।' अब फाइनलमा ब्वाइज युनियनले मनाङ-मस्र्याङ्दी र संकटाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।
रोमाञ्चक टाइब्रेकर
ब्वाइज युनियनका लागि सडनडेथमा क्यामरुनी खेलाडी अबा नोबर्टले निणर्ायक गोल गरे । निर्धारित पाँच-पाँच पेनाल्टी प्रहारपछि टाइब्रेकर ३-३ को बराबरीमा रहेको थियो । गंगाराम देउजाको गोलपछि आर्मीले सडनडेथमा अग्रता लिएको थियो । कप्तान प्रेम घिमिरेले त्यसलाई ४-४ को बराबरीमा ल्याए ।
लगत्तै सन्तोष नेपालीको प्रहार बाहिरिएपछि नोबर्टले गोल गरेका हुन् । 'मेरो प्रहारसँगै जित्नेमा म ढुक्क थिएँ,' नोबर्टले भने । नेपाली राष्ट्रिय टोलीका 'पेनाल्टी' विशेषज्ञ राजु तामाङको पाँचौं प्रहार गोलमा परिणत भएको भए, जित आर्मीको हुने थियो । तर उनको प्रहार बाहिरिएको थियो ।
त्यसयता रवि सिलवालले गोल गर्दै टाइब्रेकर बराबरीमा ल्याए । यसअघि आर्मीका लागि जितेन्द्र कार्की, हिरण्य मगर र भरत खवासले गोल गरे । नवयुग श्रेष्ठको प्रहार ब्वाइज युनियनका गोलरक्षक राजु योगीले बचाएका थिए । यस्तै ब्वाइज युनियनका तर्फबाट असिमजंग कार्की, अकिम बाबा र रवि सिलवालले गोल गरे ।
टाइब्रेकरका लागि भने सब्स्टिच्युट गोलरक्षकका रूपमा मैदान छिरेका गंगारामले विनोद लामा र राजु योगीको प्रहार बचाएका थिए । 'राजुले गोल गर्नुपर्ने थियो, तर उनी असफल रहे । यो नै टाइब्रेकरको निणर्ायक क्षण रह्यो,' आर्मी प्रशिक्षक योगम्बर सुवालले भने, 'अन्यथा जित हाम्रो थियो । फुटबलमा यस्तो हुन्छ ।'
ब्वाइज युनियनले आर्मीलाई हराएको पनि नौ वर्षयता यो पहिलोपल्ट हो । उसले ०६१ को लिगमा आर्मीलाई १-० ले हराएको थियो । 'हामीले यहाँसम्म अविश्वसनीय यात्रा गर्‍यौं, अब हाम्रो लक्ष्य उपाधि जित्नु हुनेछ,' प्रशिक्षक महर्जनले थपे । सेमिफाइनल प्रवेशका लागि ब्वाइज युनियनले थ्री-स्टारलाई हराएको थियो ।
उत्कृष्ट पुनरागमन
आर्मीले ४९ औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । हिरण्य मगरको पासमा सन्तोष नेपालीले हेडद्वारा पहिलो गोल गरे । ब्वाइज युनियनले ८० औं मिनेटमा बराबरी गोल फर्कायो । सब्स्टिच्युट शशिचन्द्र राईको प्रहार आर्मी गोलरक्षक फूलबहादुर लामाले राम्रोसँग नियन्त्रण गर्न सकेनन् ।
त्यही बलले पोस्टको दिशा लिएको थियो । ब्वाइज युनियनले १ सय १ औं मिनेटमा विनोद लामाको उत्कृष्ट गोलले अग्रता लियो । विनोदले २५ यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । तर यो अग्रता एक मिनेट पनि टिकेन । गोलरक्षक राजुको कमजोर क्लियरेन्समा नवयुगले बराबरी गोल गरे ।
ब्वाइज युनियन २-२ आर्मी
(टाइब्रेकरमा ५-४)

0 comments

Write Down Your Responses

Powered by Blogger.