समानुपातिकका लागि तातिए दलहरु

समानुपातिक सभासदको सूची बुझाउन केही दिन मात्र बाँकी रहँदा मधेशी दलहरु समानुपातिक सभासद् चयन प्रक्रियामा व्यस्त भएका छन् ।
केही मधेसी दलले अध्यक्षलाई सभासद् चयन गर्ने जिम्मेवारी दिएका छन भने कुनै दल छलफलमा जुटिरहेका छन् ।
मधेशी जनअधिकार फोरम नेपालले समानुपातिक सूचीमा पठाउने सभासद चयनबारे छलफल सुरु गरेको छ ।
चुनावी समीक्षा, पार्टीको भावी रणनीतिबारे शनिबारदेखि केन्द्रीय कार्यालय बालकुमारीमा फोरम नेपालको बैठक जारी छ । फोरम नेपालले समानुपातिकतर्फ ८ सिट पाएको छ । उसले प्रत्यक्षमा दुई सिट मात्रै जितेको थियो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले भने अध्यक्ष विजयकुमार गच्छदारलाई समानुपातिकतर्फका सभासदको नाम चयन गर्ने जिम्मा दिएको छ ।
गच्छदारले पदाधिकारीभन्दा बाहिरका व्यापारी र धनाढ्यलाई सभासदमा सिफारिस गर्न सक्ने शंका गर्दै पार्टी पदाधिकारीमा सन्त्रास छाएको छ । लोकतान्त्रीकले समानुपातिकतर्फ १० सिट पाएको छ ।
यस्तै, सद्भावना पार्टीले समानुपातिक सभासद चयन गर्ने जिम्मा अध्यक्ष राजेन्द्र महतोलाई दिएको छ । २४ देखि २८ मंसिरमा काठमाडौंमा भएको राष्ट्रिय कार्यसमिति बैठकले महत्तोलाई जिम्मेवारी दिएको हो ।

सद्भावनाले समानुपातिकमा ५ सिट पाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले पनि छिट्टै समानुपातिक सभासद्को नाम चयन गर्ने जनाएको छ । तमलोपाले समानुपातिकमा ७ सिट पाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकमा नाम चयन गर्न अध्यक्ष शरतसिंह भण्डारीलाई नै जिम्मेवारी दिएको छ । प्रत्यक्षमा एउटै सिट नजितेको राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकमा तीन सिट पाएको छ ।

त्यस्तै, तराई मधेस सद्भावना पार्टीले निर्धारित समयमै समानुपातिक सूची बुझाउने जनाएको छ ।
प्रत्यक्षमा एक सिटमा विजयी भएको उसले समानुपातिकमा दुई सिट पाएको छ । समानुपातिकमा एक सिट मात्र पाएको संघीय सद्भावनाले भने एकीकृत माओवादीले नाम बुझाए मात्रै आफूले पनि बुझाउने जनाएको छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.