धाँधली पाइयो : एमाओवादी वर्षमान आयोगले बुझायो प्रतिवेदन

एमाओवादीले संविधानसभा निर्वाचनपछि मतगणना सुरु हुनेबेलासम्म 'संस्थागत नीतिगत र संरचनागत, धाँधली' भएको आरोप लगाएको छ । निर्वाचन परिणाममा असहमति जनाउँदै उसले गठन गरेको आन्तरिक समितिले अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष छ ।
नेता वर्षमान पुनको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा निर्वाचन आयोग र सुरक्षा निकायलाई पनि मुछिएको छ । 'संस्थागत, नीतिगत र संचरनागत धाँधली र षड्यन्त्र भएको देखियो,' समितिका सदस्य रामचन्द्र झाले भने, 'यसमा निर्वाचन आयोग र सुरक्षा निकाय पनि संलग्न रहेको देखियो ।'
आयोगले मतगणना निर्देशिकाविपरीत मंसिर ६ गते राति निर्वाचन अधिकृतलाई सर्कुलर जारी गरी मतगणना सुरु गरेको आरोप पनि उनले लगाए । 'निर्देशिकाविपरीत आयोगले मंसिर ६ गते राति १० बजे छुट्टै सर्कुलर जारी गरी षड्यन्त्र र धाँधलीलाई वैधानिकता दिएको पाइयो,' उनको आरोप छ, 'त्यसो किन गरियो ? हाम्रो प्रश्न छ ।'
मतदान केन्द्रमा सेना तेस्रो घेरामा बस्ने भनिए पनि मतपेटिका ओसार्ने काम उसले गरेको र मतपेटिका ओसार्न अस्वाभाविक समय लगाएको पाएको झाले बताए । 'सेनाले मतपेटिकासँगै पार्टीका प्रतिनिधिहरूलाई आउन नदिएको पाइएको छ,' उनले भने । प्रतिवेदन ५० मतदाता केन्द्रको रिपोर्ट संकलन गरी तयार पारेको उनले बताए ।
समितिका अर्का सदस्य खिमलाल देवकोटाले धाँधलीका धेरै प्रमाण प्राप्त भएको बताए । प्रतिवेदन बुधबार सार्वजनिक गरिँदैछ । समितिले प्रतिवेदनको तथ्यका आधारमा उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । गत केन्द्रीय समिति बैठकले पुनको संयोजकत्वमा झा, देवकोटा, रामनारायण बिडारी र जनकराज जोशी सदस्य रहेको समिति बनाएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.