अपहरित बालकको भारतबाट उद्धार

तीन दिनअघि सुनसरीको धरानबाट अपहरणमा परेका ११ वर्षीय बालक ऋतिक शेखलाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले भारतको पुर्नियाबाट सकुशल उद्धार गरेको छ।
धरान नगरपालिका वडा नम्बर–७ मा कवाडी व्यापार गर्ने भारत पश्चिम बंगालका सर्फुल शेखका छोरा ऋतिकलाई मंसिर १५ गते उनको डेराबाट भारत पुर्नियाका आतावुल शेखले अपहण गरी पुर्निया पुर्याएपछि ३ लाख रुपियाँ फिरौती माग गरेका थिए।
पीडित परिवारले प्रहरीलाई उक्त जानकारी गराएपछि आइतबार दिउँसो नै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालको कमान्डमा कोसी अञ्चल प्रहरी कार्यालय धरान र पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको ७ जनाको टोलीले अपहरित बालकको उद्धार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
आइतबार साँझ अपहरणकारीको घरबाट उद्धार गरेपछि इलाका प्रहरी कार्यालय धरानले सोमबार बिहान निज बालकलाई उनको परिवारको जिम्मा लगाएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
नेपाली प्रहरी टोलीले भारतको पुर्नियामा रहेको कसवा थानासँग समन्वय गरेर अपहरणकारीको घरबाटै बालकको उद्धार गर्न सफल भएको तर अपहरणकारी अतावुल शेखलाई भने पक्राउ गर्न नसकिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो।
अपहरित बालकको स्वास्थ्य परीक्षण गर्दा उनको अवस्था ठीक पाइएको प्रहरीको भनाइ छ। पीडित बालकले अपहरणकारीले आफूलाई कुनै प्रकारको शारीरिक वा मानसिक यातना नदिएको बताएका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.