सगरमाथा दिवस : सरकारले मनाएन, व्यवसायीले मनाए

१५ जेठ, काठमाडौं । विगतका वर्षहरुमा सरकारको आयोजना र पर्यटन व्यावसायीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस यस वर्ष व्यवसायीहरुले मात्र मनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालय र नेपाल पर्यटन बोर्डले मे २९ तारिखमा सगरमाथा दिवस भव्य रुपमा
मनाउँदै आएको थियो । यस पटक नेपाल पर्यटन बोर्डमा भएको आन्दोलनका कारण
सरकारले सगरमाथा दिवस मनाएन । नेपालको पर्यटन इतिहासमा पहिलो पटक यस्तो
घटना घटेको व्यवसायीहरुको दाबी छ ।
व्यवसायीहरुले भने सरकारको सहभागीताबीना
आन्दोलनकै रुपमा सातौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । पर्यटन
क्षेत्रसँग सम्बद्ध संघ-संस्थाहरुद्धारा गठित संयुक्त पर्यटन समन्वय
समितिले सगरमाथा दिवसको अवसरमा बिहीबार ठमेलदेखि भृकुटीमण्डपस्थित पर्यटन
बोर्डको कार्यालयसम्म र्यालि निकाल्यो ।
र्यालीमा पर्यटन व्यवसायीहरु, पर्यटन
विज्ञहरु एवं पर्यटन मजदुरहरुको बाक्लो उपस्थिती रहेको थियो । तीन
हजारभन्दा बढी व्यवसायीहरु संयुक्त रुपमा विभिन्न नारा लेखिएका ब्यानरसहित
र्यालीमा सहभागी भएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।
र्यालीपश्चात व्यवसायीहरुले पर्यटन बोर्डको प्राङ्गणमा भेला भई औपचारिक
कार्यक्रम गरेका थिए ।
निजी तथा सरकारी साझेदारीको अवधारणामा
स्थापित भएको बोर्डको हालको बनौट र यसको कृयाकलापको बारेमा विगतदेखि नै बहस
हुने गरेपनि यहाँ हुने आर्थिक अनियमितता, भ्रष्टाचारको छानविन गरिनुपर्ने
लगायतका मागहरु राखेर संयुक्त पर्यटन समन्वय समिति विगत ३० दिनदेखि आन्दोलत
रहेको छ । आफ्ना श्रृखलाबद्ध आन्दोलनका कार्यक्रमहरु अनुसार समितिले
बोर्डको प्रांगणमा २४ घण्टे धर्ना र रिले अनसन गर्दै आएको छ । आन्दोलन कै
कार्यक्रम अनुरुप जेटीसीसी संग सम्बद्ध सबै संघसंस्था र व्यवसायीहरुले
बोर्डका अध्यक्ष समेत रहेका पर्यटन सचिवको सार्वजनिक बहिस्कार समेत गर्दै
आएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा सन्
१९५३ मा सगरमाथाको प्रथम पटक सफल आरोहण गर्न सफल ब्रिटिस एक्सपीडिसन्स
टिममा सहयोगी मजुरका रुपमा गएका कान्छा शेर्पा रहेका थिए । कान्छा शेर्पा
एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गरेको
टोलीका एक मात्र जिवित व्यक्ति हुन् ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघले सेभेन
समिट महिला टिमलाई सात लाख नगद सहित सम्मान गरेको छ भने माउण्ट के २ आरोहण
टोलीलाई ६ लाख नगदसहित सम्मान गरेको छ । विगतका बर्षहरुमा सगरमाथा
आरोहीहरुलाई सम्मान गरिने गरिएको भएता पनि यस बर्ष सबै सगरमाथा आरोहण
कार्यक्रमहरु रद्द गरिएका छन् ।
प्रमुख अतिथि शेर्पाले कार्यक्रममा
उपस्थितहरुलाई सम्बोधन गर्दै नेपालमा हालसम्म पनि पर्वतारोहीहरुको भविष्य
सुनिश्चित हुने अवस्था नरहेको गुनासो गरेका थिए । विश्वको सर्वोच्च शिखर
सगरमाथाको प्रथम पटक आरोहण भएको दिन सन् १९५३ मे २९ लाई सम्झना गर्दै
अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइदै अएको छ ।
0 comments
Write Down Your Responses