मगन्तेको मासिक कमाइ एक लाख ! भिखारीविहीन समाज बनाउने कि अधिकार सुनिश्चित गर्ने ?
शीर्षक पढ्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । गरिव, गुरुवा वा असक्त भिकारी देख्दा करुणाले मन भरिने संस्कारमा हुर्केका हामीलाई यस्तो लाग्नु अस्वभाविक पनि होइन । तर, काठमाडौंको पशुपति क्षेत्र र न्युरोड, भोटाहिटी क्षेत्रका सडकमा बस्ने मगन्ताहरुको कमाइ दैनिक ३ हजारभन्दा माथि अर्थात मासिक सरदर एक लाख हुने गरेको पाइएको छ । यसलाई पुष्टि गर्ने अनुभवजन्य तीन घटनाहरु :

घटना एक
गएको कुकुर तिहारको दिन सिस्नुपानी नेपालले पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमबाट देउसी कार्यक्रम गरेको थियो । कार्यसमिति सदस्य हुनुको नाता तयारीका लागि तोकिएभन्दा एक घन्टा अगाडि नै त्यहाँ पुगेँ । साथीहरु कोही आइनपुगेको देखेपछि बृद्धाश्रम प्रमुख रामशरण थापासँग गफिन थालेँ । बृद्धाश्रममा शारीरिक रुपमा तगडा जस्ता देखिने केही व्यक्तिहरुले आश्रय पाएको तर साह्रै असक्त अवस्थाका बृद्धबृद्धाहरु सडकपेटीमा बसेर भीख मागेको दृश्यले मलाई निकै पहिलेदेखि असहज बनाइरहेको थियो । बृद्धबृद्धा राख्ने प्रावधानका बारेमा जानकारी लिइसकेपछि मैले थापाजीलाई भनेँ, “यहाँ मरिमराउ वा अन्य कारणले ठाउँ खाली भएका बेला सडकपेटीमा बस्ने ती असहाय मगन्ताहरुलाई ल्याएर राख्न सकिँदैन ?”
“कहाँ आउँछन् र तिनीहरु ?” थापाजीले भने, “बृद्धाश्रममा बसेपछि यहाँको नियम पालना गर्नुपर्छ, दैनिक ३ हजार-३५ सयको कमाइ छाडेर उनीहरु यहाँ किन आउँछन् ?”
काठमाडौंका मगन्ताहरुको कमाइ राम्रो छ भन्ने बारेमा त्यसअघि सुनेको त थिएँ तर विश्वास लागेको थिएन । त्यसैले सोधेँ । जवाफमा थापाले एउटा अनुभव सुनाए । उनले भने, “यहाँ (बृद्धाश्रममा) बस्नेहरु पनि कोही कोही हामीले थाहै नपाइकन सडकमा माग्न जान्छन् । एकपटक एकजनालाई सडकमा भेटेर गाली गरेँ । उल्टो ऊ भन्दै थियो, ‘आज त दान दिनेहरु पनि कस्ता खाते फेला परे भने……. ! तीन हजार पनि कमाइ भएन ।’ अब तपाईं आफैं अनुमान गर्नुस्, उनीहरुको दैनिक कमाइ कति होला ?” थापाजीले निचोड सुनाए, “हामीले यहाँ जतिसुकै मेजमान गरेर राखे पनि उनीहरु यहाँ आउँदैनन् ।”
दोस्रो घटना
काठमाडौंको न्युरोड क्षेत्रमा हिँडडुल गर्ने धेरैले ख्याल गरेको हुनुपर्छ, नेपाल वायुसेवा निगमको उत्तर-पूर्वी कुनामा एकजना साह्रै असक्त बृद्धा भीख मागेर बसिरहेकी हुन्छिन् । पोकापन्तुरासहित बस्ने उनी शारीरिक रुपमा शक्त हुँदा घाँस काटेर ल्याएर खसीबजार क्षेत्रमा बेच्थिन् । तर, चण्डाल व्यापारीहरुले बृद्धालाई हेपेर एकदमै कम मोलमा घाँस किन्थे । कतिपयले त ‘खसी बिकेपछि पैसा लिन आउनू’ भनेर बृद्धालाई ठग्थे पनि । आठ-दश वर्षदेखि मैले तिनको दैनिकीलाई नजिकैबाट नियालेको थिएँ । को हुन् र सन्तान छन् छैनन् भन्ने बारेमा खोजी गरेको थिएँ ।
वैंशालु उमेरमा लोग्ने बितेपछि दोलखातिरबाट छोरो च्यापेर काठमाडौं आएकी तामाङ मूलकी उनले सुरुमा अर्काको घरमा भाँडा माझेर छोरो पढाइछन् । छोरो लाठे भयो र उसले काठमाडौंमै घर भएकी एउटी केटी बिहे गर्यो । केही महिनापछि बुहारीले बृद्धालाई डेराबाट निकालेर सडकमा पुर्याइदिई । छोरोले पनि स्वास्नीकै पक्ष लियो । सडकवासी भएकी बृद्धाले त्यसपछि पनि अर्काको घरमा भाँडा माझ्ने कामलाई निरन्तरता दिइन् । र, पछिल्ला दिनमा घाँस बेचेर गुजारा गर्न थालिन् ।
‘छोराले कमलपोखरीबाट ज्ञानेश्वर जाने सडकमा रेडियो बनाउने काम गर्छ’ भन्ने जानकारी पाएपछि त्यो बेला मैले उसको खोजी पनि गरेको थिएँ । तर, कहिल्यै फेला पार्न सकिनँ । कुरा त्यत्तिमै रहेको थियो । धेरैपछि उनलाई मैले न्युरोड छेउमा सडकमा भिख मागिरहेको अवस्थामा फेला पारेँ । किन किन उनलाई कुनै बृद्धाश्रममा लगेर राख्न पाए हुन्थ्यो जस्तो लाग्यो । रक्षा नेपालकी प्रमुख मेनुका थापासँग कुरा चलाएँ । भनेँ, “बरु उनले खाने खर्चको म प्रबन्ध गर्छु, कहीँ लगेर राख्ने व्यवस्था गरौं न ।” उनी सकारात्मक भइन् । सोल्टीमोडस्थित दिलशोभा दिदीको आमाघरमा राख्ने गरी कुरा अघि बढ्यो । मेनुकाले भनिन्, “त्यस्ता आमाहरु त आश्रममा बस्न मान्दैनन् नि । एकचोटि भेटेर राम्ररी कुरा गर्नुस् है ।” नभन्दै त्यस्तै भयो ।
हनुमानढोका छेउको मन्दिरको सत्तलमा रात बिताउने गरेको बताउने बृद्धाले भनिन्, “म त जान्न । मर्ने बेलामा स्वयम्भूमा पो जानुपर्छ, आश्रममा गएर के गर्नु ?”
मैले उनलाई निकैबेर लगाएर सम्झाउने प्रयास गरेँ । तर अहँ, उनी टसको मस भइनन् । बरु छेउमा पत्रिका बेच्ने एउटी बहिनीले मलाई बोलाएर भनिन्, “उन (बृद्धा)को कमाइ कस्तो राम्रो छ, कहाँ आश्रममा गएर बस्न मान्छिन् त !” सोधेँ, “त्यस्तो कमाइ छ र ?” जवाफमा उनले जे भनिन्, त्यो मेरा लागि साँच्चै अविश्वसनीय थियो ।
घटना तीन
योचाहिँ चार महिनाअघिको घटना हो, जो स्मृतिमा गढिसकेको थियो । तर, पछिल्ला दुई घटनाले यो घटनालाई पनि पुर्नताजगी गराइदियो ।
जमलबाट कपन जानुपर्ने । साँझ ढल्किन थालिसकेको थियो । जुन गाडी आए पनि भिडाम्भीड, पाइलो राख्ने ठाउँ छैन । माइक्रोबसमा कुनै हालतमा पनि झुन्डिएर यात्रा नगर्ने बाचा गरेको मेरा लागि पैदल यात्रा गर्नुको विकल्प रहेन । सँगै रहेका एकजना नेत्रहीनका लागि पनि त्यही अवस्था आएको थियो । बस कुर्ने क्रममा भएको चिनाजानीले हामीलाई सँगै पैदल यात्रा गर्न सहज भयो । उनको साथमा सात-आठ वर्षकी छोरी पनि थिइन् । हामी दरबारमार्ग, नागपोखरी हुँदै बाटो लाग्यौं ।
नेत्रहीन भए पनि उनी भोटाहिटी पुलमा बसेर मैनबत्ती बेच्दा रहेछन् । मनबत्ती बनाउने कामचाहिँ उनीहरुको संस्थाले गर्दोरहेछ । गफैगफमा कमाइका कुरा भए । “बाँच्न जान्ने हो भने काठमाडौंमा कोही भोकै मर्दैन ।” क्षेत्री थर बताउने उनले अनुभव सुनाए, “म मैनबत्ती बेचेर दिनको दुई-अढाइ सय कमाउँछु । तर मेरो छेउमा टोकरी थापेर बसेको इन्डियाबाट आएको भिखारीले दिनको तीनहजार भन्दा बढी कमाउँछ ।”
“कसरी थाहा पाउनु भो ?” मैले जिज्ञासा ओछ्याएँ ।
“आँखा नदेखे पनि उसको टोकरीमा ट्याङ्ग्रयाङ-ट्याङ्ग्रयाङ गरेर पैसा खसेको सुनेर पनि उसले १५ सयभन्दा बढी डलर मात्रै कमाउँछ होला भनेर अनुमान गर्छु । डलरमा पनि अचेल त मान्छेले एक रुपैयाँ दिनै छाडिसके । अझ नोटको समेत हिसाब गर्दा त त्यसले दिनको ३५ सय-चार हजार कमाउँछ होलाजस्तो लाग्छ ।”
के गर्छन् त कमाइ ?
जानकारहरुका भनाइमा काठमाडौंका ६० प्रतिशत मगन्ता भारतीय छन् । ३० प्रतिशत तराइ मूलका र बाँकी १० प्रतिशत पहाडीमूलका छन् । भारतीय र तराई मूलकाहरुले निश्चित महिना लागेपछि, आसगरी काठमाडौंमा जाडो सुरु भएपछि कमाइ लिएर आफ्नो गाउँघरतिर जाने गर्छन् । त्यहाँ उनीहरुले घर बनाउने, जग्गा जोड्ने गरेको पनि पाइएको छ ।
पहाडीमूलका कतिपय मगन्ताहरुको कमाइ बेगारी बसेको सिंगो परिवार पाल्नका लागि खर्च भइरहेको देखिन्छ । त्यस्ता परिवारका सदस्यले असक्त सदस्यलाई बिहा सडकमा पुर्याउने र बेलुका लिन जाने गरेको पनि देखिएको छ । खाजा, चिया पनि लगिदिने गरेका छन् ।
उता बृद्धाश्रम प्रमुख थापा अनुभव सुनाउँछन्, “कतिपय मगन्ताले भने कमाइको पैसा विश्वासिला पसले वा आफन्तहरुलाई व्याजमा लगाउने गरेको समेत पाइएको छ ।”
माग्नेहरु सबै अशक्त होइनन्
तपाईहरुलाई लाग्दो हो, माग्नेहरु सबै अशक्त हुन् । तर, कुरो यस्तो होइन । त्यसैले भिखारी भन्दैमा दान दिने कुरामा धेरै उदार नबन्ने हो कि ? रोगी, बृद्धबृद्धा र साह्रै असक्तलाई मात्रै दान दिने हो कि ? युगल जोडीदेख्नासाथ बाटो छेक्नेहरु, हातपर्सार्दै आउने सवलाङ्गहरु, गाविसको पत्र देखाउँदै अथवा नावालक बच्चा च्यापेर भीख माग्नेहरुलाई पैसा दिएर प्रोत्साहित गर्न हुन्छ या हुँदैन भन्नेबारे बहस गर्नैपर्ने भएको छ । अझ सवलाङ्ग केटाकेटीलाई, अपाङ भएको अभिनय गर्नेहरुलाई पैसा दिनु भनेको त भविष्यका लागि कस्तो नागरिक बनाउन लागिएको हो भन्ने पनि सोच्न जरुरी छ ।
समाजलाई मगन्तेविहीन बनाउनु राम्रो हुन्छ । भारतबाट आएर नेपालका सडकमा माग्ने कार्य गरिरहेका हुन् या नेपाली नागरिकहरु नै विवशताले माग्न बसेका हुन् ? उनीहरुको समस्याबारे कसले हेर्ने ? सरकारले या एनजीओ/आइनजीओले ? माग्ने भिखारीहरुले दुईरुपैयाँ भन्दा कम भीख दिन नपाइने भन्दै आफ्नो अधिकारका लागि जुलुस निकाल्न थालिसकेका छन् । हामीले भिखारीहरुको अधिकार सुनिश्चित गर्ने हो या भिखारीविहीन समाज बनाउने हो ? मगन्ताको कमाइ जतिसुकै भए पनि समाजमा यसबार बहस जरुरी भएको छ ।

0 comments
Write Down Your Responses