कुख्यात अपराधी सिकन्दर पक्राउ
१३ मंसिर, नेपालगन्ज । प्रहरीको मोस्ट वान्टेड सूचीमा परेका कुख्यात अपराधी बाँके रनियाँपुर-५ का सिकन्दर अलि शेष (खाँ) सहित एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । सिकिन्दरलाई प्रहरीले बिहीवार विहान बाँकेको होलियावाट हतियारसहित पक्राउ गरेको हो ।
प्रहरीले अञ्चल प्रहरी कार्यालय भेरीमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मोष्टवान्टेड अपराधी खाँलाई नेपालगन्जमा सार्बजनिक गरेको हो । पक्राउ परेका दुबै जनालाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको विषेश अनुसन्धान टोलीका कमाण्डर प्रनाउ प्रकाश मल्लको विषेश कमाण्ड, अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । खाँको साथबाट २ थान पेस्तोल, ४ थान गोली एक थान नेपाली युटिएलको सिम, दुई थान भारतीय नम्बरको सिम, दुईवटा मोवाईल र एउटा पल्सर मोटरसाईकल नियन्त्रणमा लिएको अंचल प्रहरी कार्यालयल भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मधुसुधन पुडासैनीले जानकारी दिनुभयो ।
‘तराई जनतान्त्रिक पार्टी मधेश’ बाँके बर्दिया संयोजकको रुपमा सक्रिय रहेका सिकन्दरमाथि हत्या, हिंसा, अपहरण, चन्दा असुली, फिरौती माग्ने विष्फोटनका घटना लगायतका विभिन्न दर्जनबढी अपराधमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । सिकन्दरले सीमावर्ती भारतीय सहरमा रही नेपालमा विभिन्न खालका अपराध घटाएको आरोप छ । पक्राउ परेका सिकन्दरमाथि २०६७ कात्तिक २८ मा ईन्द्रपुर-७ खजुरा खुर्दका गंगाराम पासी र मन्नु भन्ने मुन्ना यादवको घाँटी रेटी हत्या गरेको, २०६७ माघ २७ मा बागेश्वरी-२ का प्रकाश श्रेष्ठमाथि गोली प्रहार गरी हत्या गरेको, २०६९ फागुन १० मा खजुराखुर्द-४ का दलबहादुर थापालाई गोली हानी हत्या गरेको लगायतका अपराधमा संलग्न रहेको आरोप छ ।
यसैवीच सिकन्दरका साथमा रहेका भारत श्रावस्ति नवावगन्ज हसनपुरका ३५ वर्षीय हविव खाँ समेत पक्राउ परेका छन् । हविवको साथमा एक कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको छ भने सिकन्दरको साथबाट मेड ईन जमर्नी लेखिएको १३१३२३२ नम्बर उल्लेख भएको रिभल्वर र दुईथान गोली बरामद गरेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses