पोसाक र स्टेसनरीले विद्यार्थी धान्दै


काठलाहाचोक -कास्की, मंसिर ३० - पोखरा नजिकै लाहाचोकस्थित जनजागरण प्राविमा दलित समुदायका विद्यार्थी मात्रै पढ्छन् । आर्थिक रूपले सक्षम हुनेहरू निजीमा पढाउने गरेपछि आर्थिक रूपले कमजोर भएकाहरू यसै विद्यालयमा पढाउने गरिएको हो । पोसाक र स्टेसनरीलगायतका सुविधा दिई विद्यालयले विद्यार्थी थमाउने गरेको छ । यो सुविधा नपाए विद्यार्थी विद्यालय आउनै छाड्छन् । अभिभावकमा बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना अझै विकसित भइनसकेको विद्यालयकी पि्रन्सिपल निशा सुनारले बताइन् ।

'विद्यालय पोसाक र स्टेसनरी सामान उपलब्ध नगराउने हो भने विद्यार्थी आउँदैनन्,' सुनारले भनिन्, 'शिक्षाको कमीले अभिभावकमा चेतनास्तर विकास नभएर पनि हो ।' उनका अनुसार शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्नाका लागि ब्यानर बोकेर घरदैलो अभियान सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

विद्यालयले विभिन्न संघसंस्थासँग सहयोग जुटाएर पोसाक, स्टेसनरी तथा छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको सुनारले बताइन् । दलित बालबालिकालाई शिक्षा दिने उद्देश्यले २०५७ मा स्कुल स्थापना भएको हो । ०६४ सालमा सरकारी अनुमति पाएपछि सबैका लागि खुला भए पनि यहाँ गैरदलित विद्यार्थी आएका छैनन् । एकदेखि पाँच कक्षासम्म अध्ययन हुने विद्यालयमा एक जना तामाङबाहेक अरू सबै दलित छन् । पचास जना विद्यार्थी रहेको विद्यालयमा उनीहरूमा नियमितता भने छैन ।

सहयोग जुटेन भने विद्यार्थी संख्या घट्ने चिन्ता विद्यालयको छ । गाविसमा ३५ प्रतिशत दलितको संख्या रहेकोमा यस विद्यालयमा पढ्ने वडा ३, ४ र ५ का दलित बस्तीका विद्यार्थी हुन् । 'दलित केन्दि्रत भएपछि यहाँ विद्यार्थी आउने वातावरण बनेको छ,' शिक्षक हुमबहादुर नेपालीले भने, 'विद्यालयले सञ्चालन गरेको भर्ना अभियानले पनि वातावरण बनिरहेको छ ।'

 यहाँ पढ्ने विद्यार्थीका अभिभावक ज्याला मजदुरी गर्नेहरू नै बढी छन् । आठ वषर्ीया दुर्गा सुनार कक्षा चारमा पढछन् । पढाइमा समेत अब्बल उनले अध्ययनलाई निरन्तरता दिने बताइन् । डाक्टर बन्ने लक्ष्य लिएकी उनले भनिन्, 'धेरै पढ्ने धोको छ ।'

सुरुवातमा २५ दलित विद्यार्थीबाट सुरुवात विद्यालयमा भर्नाका लागि घरदैलो अभियानले विद्यार्थी संख्या सन्तोषजनक रहेको विद्यालयले जनायो । सुरुवातका दिनमा विद्यालयमा विद्यार्थी नभएर घरमै लिन जानुपर्ने बाध्यता हटेर पढ्ने बानी क्रमशः विकास हुँदै गएको पि्रन्सिपल सुनारले बताइन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.