बलिउड सुपरस्टार ऋतिक रोशनले श्रीमतीसँग डिभोर्स गरे

बलिउड सुपरस्टार ऋतिक रोशन र उनकी श्रीमती सुजैन रोशनले सम्बन्ध विच्छेद गरेका छन। ऋतिकले श्रीमान-श्रीमति दुवैले अब सँगै नबस्ने निर्णय गरेको सार्वजनिक रुपमा वक्तव्य निकालेर पुष्टि गरेका हुन्। उनका अनुसार अलग हुने निर्णय सुजैनले गरेकी हुन् ।



ऋतिकले निकालेको बक्तव्यमा भनिएको छ, ‘सुजैनले मसँग छुट्टिने निर्णय गरेकी छन्। हामीबीचको १७ वर्ष लामो सम्बन्ध अब समाप्त भएको छ ।’ ऋतिकले आफू र दुवै जनाको परिवारका लागि यो निकै पीडादायी समय भएको भन्दै मिडिया र आम नागरिकलाई आफूहरुको गोपनियताको ख्याल गर्न पनि आग्रह गरेका छन्।

यो खबरले विवाह जस्तो शब्द प्रतिको आफ्ना प्रशंशक र अरु मानिसको विश्वास कम होस् भन्ने आफूले नचाहेको भन्दै उनले विवाहप्रति आफ्नो पूर्ण विश्वास रहेको र हरतरहबाट आफूले यसको सम्मान गर्ने ऋतिकले बताएका छन्। उनले आफ्ना प्रशंशकलाई धन्यवाद दिंदै भनेका छन्, ‘म उनीहरुप्रति आभारी छु जसले मेरो स्वास्थ्यको चिन्ता गरेका छन्। मेरो उपचार सहि रुपमा भईरहेको छ र म छिटै सामान्य जिन्दगीमा फर्किनेछु।’

ऋतिक र सुजैन खान सन् २००० डिसेम्बर २० तारिखमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका दुई जना छोरा ऋहान र ऋदान छन् । ऋतिक चर्चित निर्देशक-अभिनेता राकेश रोशनका छोरा हुन् भने सुजैन अभिनेता सञ्जय खानकी छोरी तथा हिरो जायद खानकी दिदी हुन्। उनीहरुबीच लामो समयदेखि सम्बन्ध बिग्रिएको र अलग भएको खबर आइरहेपनि अहिले बल्ल ऋतिक आफैँले त्यसको पुष्टि गरेका छन् । सम्बन्ध सुमधुर नरहेपछि सुजैन लामो समयदेखि माइतीमा बस्दै आएकी छन्।
ऋतिक रोशन
  बलिउड सुपरस्टार ऋतिक रोशनले श्रीमतीसँग डिभोर्स गरे

0 comments

Write Down Your Responses

Powered by Blogger.