खेलकुद
»
वैकुण्ठ र दीपकले २५ लाख पाउने पक्का
वैकुण्ठ र दीपकले २५ लाख पाउने पक्का
लामो अन्योलपछि अन्ततः दक्षिण एसियाली खेलका कीर्तिमानी खेलाडी वैकुन्ठ मानन्धर र दीपक विष्टले २५/२५ लाख रुपैयाँ पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब डेढ वर्षअघि नै सागमा तीन स्वर्ण जितेका खेलाडीले सक्रिय खेलजीवन त्यागेपछि आवासको व्यवस्थाका लागि २५ लाख दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो । तर, त्यसबेला नियमावलीमा रहेको 'अबदेखि गणना गर्ने' भन्ने शब्दका कारण वैकुण्ठ र दीपकले तोकिएको रकम पाउने कि नपाउने भन्ने अन्योल थपिएको थियो ।
कीर्तिमानी तेक्वान्दो स्टार दीपकले काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुददेखि लगातार चार संस्करणमा स्वर्ण जितेका थिए भने वैकुण्ठले पहिलोदेखि तेस्रो संस्करणमा एथलेटिक्सको म्याराथनमा पहिलो स्थान हासिल गरेका थिए । वैकुण्ठले कोलकातामा भएको दोस्रो दक्षिण एसियाली खेलकुदमा तयार गरेको दुई घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । ओलम्पिकमा छनोट भएका दीपकले एसियाडमा दुई कांस्य पनि जितेका थिए ।
'हामीले डेढ वर्षअघि नै उहाँहरूलाई रकम प्रदान गर्न सिफारिस गरेका थियौं तर प्राविधिक कारणले रोकिएको थियो,' राखेप सदस्य सचिव युवराज लामाले भने,'त्यसबेला अबदेखि भन्ने शब्द भएकाले केही समस्या भएको थियो तर, त्यसलाई सच्याउन पुनः सिफारिस गरेका थियौं । त्यसैका आधारमा मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।'
राष्ट्रिय खेलकुद परिषद्ले तीन वा तीनभन्दा बढी साग गेम्सको अफिसियल खेलमा स्वर्णपदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक गेम्सका पदकधारी खेलाडीले खेलजीवनबाट संन्यास लिएमा आवासका लागि २५ लाख रुपैयाँको व्यवस्था गर्नका लागि २०६८ चैत २१ को ९० औं बोर्ड बैठकबाट सिफारिस गरेको थियो । बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारका तत्कालीन अर्थमन्त्री वर्षमान पुनले त्यस निर्णयलाई पारित गरे पनि शब्दका कारण नीतिगत त्रुटि हुन पुगेको थियो । त्यसबेला चालू वर्षदेखि भन्दै दीपक र वैकुण्ठलाई दिने भनिएको रकम अर्थ मन्त्रालयले रोकेको थियो ।
'सरकारको यो निर्णयले खेलाडीमा थप हौसला प्रदान गर्नुका साथै खेलर पनि बाँच्न सकिन्छ भन्ने विश्वास बढाएको छ,' सरकारको निर्णयवाट खुसी देखिएका राखेप सदस्य सचिव लामाले भने,'यसले खेलकुदलाई व्यावसायिक बनाउन मात्र मदत गर्दैन, आर्थिक अभावका कारण कीर्तिमानी खेलाडी विदेश पलायन हुने क्रम पनि रोक्नेछ ।' उनले यो निर्णयले अब सरकार खेलकुद क्षेत्रका लागि जिम्मेवार देखिएको पनि बताए ।
सरकारले रकम दिने निर्णय गरेको जानकारी पाएपछि धावक वैकुण्ठले ढिलै भए पनि खुसी ल्याएको बताए । 'सुरुमा पाउने भनिए पनि नपाइएला जस्तो लागेको थियो तर राम्रै भयो,' उनले भने ।
दीपकले भने खेलाडीले रगत र पसिनाको मूल्य पाएको धारणा राखेका छन् । उनले खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई विशेष धन्यवाद दिन पनि बिर्सेनन् । 'पहिले पाउने भनिए पनि पछि रोकिएको थियो, तर अहिले पाउने खबरले थप खुसी ल्याएको छ,' उनको भनाइ थियो,'अब उप्रान्त भन्ने कारणले खुसी क्षणिक हुने हो कि भन्नेमा दुःखी थियौं तर राखेप सदस्य सचिवको पहलका कारण त्यो संशोधन भयो ।' उनले यसले दुई जनामात्र होइन समग्र खेल क्षेत्र नै खुसी भएको र नयाँ पुस्तालाई थप प्रोत्साहन मिलेको पनि बताए ।
त्यस्तै, सरकारको यो निर्णयप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ । खेलाडी संघका महासचिव दीपक श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस प्रकारको निर्णयले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूको मनोबल उच्च पार्न सहयोग पुग्नुका साथै खेलाडीलाई खेल्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।
Labels:
खेलकुद


0 comments
Write Down Your Responses