काखा-पाखा हुने गरी सभासद चुनिदैँन : कोइराला सरकार गठनमा सहयोग गर्न कांग्रेसको आगह

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले समानुपातिक सभासद सिफारिसमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।केन्द्रीय कार्य समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै सभापति कोइरालाले समानुपातिक सभासदको छनोटमा सबैलाई मान्ने हुने र सबैलाई न्याय गरिने बताउनुभएको काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिनुभयो ।congress-party-office
सभापति कोइरालाको भनाइ उद्धृत गर्दै यादवले भन्नुभयो, ‘सभापतिले सबैलाई समेटेर सभासद छनोट गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सबैलाई मिलाएर सभासदका लागि सिफारिस गर्छौँ ।’ यादवका अनुसार कोइरालाले आफूसहित बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मिलेर सभासदहरुको छनोट गर्ने बताउनुभएको छ । यादवले अनलाइनखबरसँग भन्नुभयो, ‘सभापतिले तीन नेता एकापसमा मिलेर सभासद छान्छौँ भन्नुभएको छ । तीन नेताको एकताविना पार्टी एकतावद्ध हुन सक्दैन, एकता नै बल भएकाले अबको खड्गो हामी मिलेर नै टार्छौँ ।’
प्रधानमन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष तीन नेतालाई
केन्द्रीय समितिले काँग्रेस नेतृत्वमा गठन हुने सरकारको नेतृत्वको विषय टुंगो लगाउने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । काँग्रेस नेतृत्वमा गठन हुने सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंग्याउने जिम्मा शीर्ष तीन नेतालाई नै दिइएको केन्द्रीय सदस्य यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’शीर्ष तीन नेता मिलेपछिमात्रै पार्टीमा एकरुपता आउँछ भन्ने सबैको रायअनुसार प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने विषय टुंग्याउने जिम्मा उहाँहरुलाई नै छोडेका छौँ । उहाँहरुले तीन नेतामध्ये एकलाई उम्मेद्वार चुन्नुहुनेछ ।’
पटक-पटक शीर्ष तीन नेताहरुका वीचमा फाटो ल्याउने प्रयास भए पनि त्यो सम्भव नभएको दाबी गर्दै यादवले पार्टीलाई एकतावद्ध बनाउन शीर्ष तीन एक हुनुपर्नेमा जोड दिएको बताउनुभयो । ‘शीर्ष तीन नेता मिलेमात्रै पार्टी मजवुद र एकतावद्ध हुने हो । त्यसैले अब ठूलो खड्गो टार्नुछ मिलेर एक भएर आउन सुझाव दिएका छौँ, यादवले भन्नुभयो ।’
सरकार गठनमा सहयोग गर्न आह्वान
काँग्रेस बैठकले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनका लागि समर्थन र सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ । आइतबार सकिएको केन्द्रीय कार्य समितिको बैठकले सहमतीय सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई सहमति र सहयोग गर्न आग्रह गरेको हो ।
पाँच दिनसम्म चलेको बैठकले सबै दलको सहभागिता रहने गरी सहमतीय सरकार गठनका लागि दलहरुसँगको वार्ता र छलफललाई तिब्रता दिने निर्णय गरेको बैठकपछि केन्द्रीय सदस्य गगन थापाले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बैठकले सकभर सबै दललाई सरकारमा सहभागी गराउन प्रयास गर्ने तर प्रयास गर्दागर्दै पनि सहमतीय सरकार गठन हुन नसकेको खण्डमा बहुमतीय सरकार गठनको कार्य अघि बढाउने निर्णय गरेको थापाले वताउनुभयो । थापाले अनलाइनखबसँग कुरा गर्दै भन्नुभयो, ‘सहमतीय सरकार गठन नै पहिलो उद्देश्य हो । तर, पहल गर्दागर्दै सहमतीय सरकार गठन असफल भए बहुमतीय सरकार गठनको विकल्प छैन ।’ नेता थापाले संविधान निर्माण प्रक्रियालाई अघि बढाउन काँग्रेसले पहल कदमी थाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारभन्दा ठूलो काम संविधान लेखनको हो, त्यसैले सरकारमा रहँदा वा बाहिर रहँदा पनि संविधान लेखनमै जोड दिनुपर्छ ।’
थापाले काँग्रेस सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै एक वर्षभित्रमा संविधान निर्माणको टुंग्याउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो,’वैठकमा बोल्ने अधिकांश नेताहरुको जोड पनि संविधान लेखनमै केन्दि्रत छ, उहाँहरुले पनि संविधान लेखनलाई महत्वका साथ लिनुपर्ने सुझाव नेतृत्वलाई दिनुभएको छ ।’
सभासद छान्ने जिम्मा संसदीय बोर्डलाई
बैठकले सनमानुपातिक सभासद छनोट गर्ने जिम्मा संसदीय बोर्डलाई दिएको छ । संसदीय बोर्डले छनोट गरेका व्यक्तिलाई नै समानुपातिक सभासदका लागि केन्द्रीय कमिटीको बैठकबाट पास गराएर समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा पेश गरिने थापाले जानकारी दिनुभयो । केन्द्रीय सदस्य गगन थापाले समानुपातिक सभासदको छनोट गुटबन्दीका आधारमा नहुने स्पष्ट पार्नुभएको छ ।
अन्तरघातबारे लिखित स्पष्टीकरण पेश गर्न निर्देशन
अन्तरघात गरेको भन्दै अनुशासन समितिमा उजुरी परेका नेताहरुलाई आफ्नो लिखित स्पष्टीकरण अनुशासन समितिमा पेश गर्न सभापति कोइरालाले बैठकमा निर्देशन दिनुभएको छ । चुनावमा उठेका उम्मेदवारमाथि केन्द्रीय सदस्य तथा जिल्लाका नेताहरुले अन्तरघात गरेको भन्दै अनुशासन समितिमा उजुरी गरेपछि कोइरालाले लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिनुभएको हो ।
कोइरालाले केन्द्रीय सदस्यहरु तथा समानुपातिक उम्मेदवारमाथि कसैले आग्रह पूर्वाग्रहका आधारमा उजुरी दिएको हुन सक्ने भन्दै यर्थाथ विवरण लिखितरुपमा अनुशासन समितिलाई बुझाउन भन्नुभएको हो । लिखित स्पष्टिकरण सोमबारसम्म अनुशासन समितिलाई बुझाइसक्नु पर्नेछ । चुनावमा अन्तरघात गरेको भन्दै केन्द्रीय सदस्यहरु सुजाता कोइराला, मीन विश्वकर्मा, मीना सुब्बा, डीना उपाध्यायलगायतका नेताविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।
संविधानसभा कार्यविधिका लागि समिति गठन
कांग्रेस बैठकले एक वर्षभित्रैमा संविधान निर्माणको कामलाई पूर्णता दिने कार्यविधि सम्वन्धमा राजनीतिक दलहरुसँग छलफलका लागि विगतको संविधानसभा नियमावली तथा संविधानसभाले गरेका काम कारबाहीको समीक्षा गर्न नरहरि आचार्यको संयोजकत्वमा चार सदस्यीय सुझाव समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य फरमुल्लाह मंसुर, भीष्मराज आङ्दम्बे र पार्वता डीसी चौधरी रहनुभएको छ ।

(Part-1) Dhoom 3 (Part-2)

0 comments

Write Down Your Responses

Powered by Blogger.