मापसे जाँच्ने ट्राफिकको हात र मलद्वारमा चोट जाँच्ने र भाग्ने घम्साघम्सी हुँदा दुबैको अस्पतालमा बास
बुधबार राति ८ बजेर २० मिनेटको समयमा सातदोबाटो जाँदै गरेको एउटा मोटरसाइकल तीव्र गतिमा हुईंकिँदै मानभवनतर्फ आयो । तीव्र गतिमा रहेको बा ५९ प २७०४ नम्बरको मोटरसाइकललाई जालमा पार्न मानभवनको ब्रिटिश क्याम्पस्थित घुम्तीमा ट्राफिक प्रहरीहरु ढुकेर बसिरहेका थिए ।
बिरालोको पञ्जामा परेर उम्केको मुसाजस्तै फुत्केको मोटरसाइकलमाथि ब्रिटिश क्याम्पको घुम्तीमा बसेका अर्का ट्राफिकले झम्टे । साथीले सिठी फुक्नेवित्तिकै प्रहरी हवल्दार केदार पौडेलले बाघले मृगलाई झम्टे झैं मोटरसाइकलमाथि धावा बोल्न भ्याए ।
मोटरसाइकललाई रोक्न एकजना ट्राफिक प्रहरीले इशारा गरे । मादक पदार्थ सेवनको जाँचका लागि ब्रेथलाईजरसहित बसेका ट्राफिकको आदेश अटेर गर्दै मोटरसाइकल हुत्तिएर ब्रिटिश क्याम्पनजिकै पुग्यो । मोटरसाइकल चालकले अटेर गरेर अघि बढेपछि ती ट्राफिकले सिठी फुक्दै आफ्ना साथीलाई खबर गरे ।
पहिलो ट्राफिकबाट उम्मेको मोटरसाइकलले गति बढाउँदै भागिरहेको अवस्थामा सडकको बीचैमा आएर अर्का ट्राफिकले रोक्न खोज्दा तिनै ट्राफिकलाई धक्का दिँदै मोटरसाइकल सडकमा पछारियो ।
मापसे जाँच गरेरै छोड्ने ट्राफिकको अड्डी र उम्केरै छाड्ने मोटरसाइकल चालकबीचको घम्साघम्सीले गम्भीर घाइते बनाएर अहिले दुबैजनालाई पाटन अस्पतालको बेडमा पुर्याएको छ ।
ट्राफिकलाई ठक्कर दिँदै मोटरसाइकलसहित सडकमा पछारिएका चालक एन्जल प्रधान र ट्राफिक प्रहरी हवल्दार केदार पौडेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । ब्रेथलाइजरसहित मापसे जाँच्न बसेका ट्राफिकले मोटरसाइकल चालकको मुखमा गहिरो चोट लागेपछि मापसे जाँचै नगरी अस्पताल कुदाएका थिए ।
मोटरसाइकल चालक एन्जल प्रधान सडकमा पछारिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ । घम्साघम्सीका क्रममा रगतपच्छे भएका दुबैजनालाई तत्कालै अस्पताल लगिएको थियो । प्रहरी हवल्दार पौडेलको भने एउटा हात भाँचिएको छ भने मलद्वारमा गहिरो चोट लागेको महानगरीय ट्राफिक प्रहरी प्रभाग जावलाखेलका प्रहरी जवान जीवन विश्वकर्माले जानकारी दिनुभयो ।
दुर्घटनापछि मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी प्रभाग जावलाखेलमा राखिएको छ । दुबैजनाको अवस्था गम्भीर रहेकाले पहिले उपचार गरेपछि मात्र अन्य कारवाही प्रकृया अघि बढाउने ट्राफिक प्रहरी प्रभाग जावलाखेलले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीले रोक्न इशारा गरेपछि थपक्क सवारी साधन रोकेर चेक जाँचमा सहयोग गर्नु सभ्य नागरिकको कर्तव्य हो । तर, नियम उल्लंघन गर्न खोज्दा र अटेर गर्ने नम्बर नोट गर्नेतिर लाग्नुको साटो मल्लयुद्ध गर्न खोज्दा चालक र ट्राफिक दुबैलाई घाटा हुँदोरहेछ भन्ने पाठ सिकाएको छ यो घटनाले । हामी कामना गरौं, अब सडकमा यस्ता घटना नहुन् । दुबै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ होस् ।


0 comments
Write Down Your Responses