परशुरामको सिट खोसेर कमल थापालाई राप्रपा नेपालको २४ सिट, संविधानसभामा ३० दल

नयाँ संविधानसभा निर्वाचनमा ३० दलको सहभागिता रहने भएको छ । निर्वाचन आयोगले आइतबार संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी १ सय २२ दलले प्राप्त गरेको मतलाई अन्तिम रुप दिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मत ९४ लाख ६३ हजार ८ सय ६२ रहेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । मंगलबार १ सय २२ दलले प्राप्त गरेको सिटको संख्या सार्वजनिक गर्नुका साथै दलहरुलाई आधिकारिक पत्र दिइने आयोगले जनाएको छ ।
स्रोतका अनुुसार कांग्रेसले ९१, एमालेले ८४, एमाओवादीले ५४ पाउने छन् । मतगणना सकिएको दिन आयोगले सार्वजनिक गरेको मत र आइतबार अन्तिम रुप दिइएको मत ठूलो भिन्नता छ । कांग्रेस, एमाले र माओवादीको मत केही हजार घटेपनि सिटमा कुनै फरक परेको छैन ।
तर राप्रपा नेपालको १ सय बढेर २४ सिट भएको छ भने परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक समाजवादी पार्टी संविधानसभामा जानेबाट बन्चित भएको छ । मतगणना सकिएको दिन आयोगले राप्रपा नेपालको मत ६ लाख २४ हजार २ सय ८१ बताएको थियो । तर, आइतबार सदर हुँदा ६ लाख ३० हजार ६ सय ९७ कायम गरिएको छ ।
राप्रपा र फोरम लोकतान्त्रिकको समान १०/१०, फोरम नेपालको ८, तमलोपाको ७ तथा सद्भावना, संघीय समाजवादी र मालेको समान ५/५ सिट तय भएको छ । नेमकिपा, रामसपा, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चाको ३/३, तमसपा, थरुहट तराई पार्टी, जनमुक्ति, परिवार दल र दलीत जनजाती पार्टीको २/२ सिट पक्का भएको छ भने अन्य १० दलको १ सिट छ ।
यसैबीच निर्वाचन आयोगले निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारहरुलाई आफूले टाँसेको पर्चा निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको ६० दिनभित्र हटाई पर्चा टाँसेको स्थान सफा गर्न भनेको छ । साथै निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन सम्पूर्ण राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.