अब प्रधानमन्त्री पनि कोइराला, सभापति पनि कोइराला वैद्यलाई मनाउन गोलमेच सम्मेलन गर्छौं : शशांक
नेपाली कांग्रेसका केन्द्रीय नेता शशांक कोइरालाले नयाँ सरकारको नेतृत्व सभापति सुशील कोइरालाले गर्ने र पार्टीको कार्यकारी अधिकार पनि उहाँ आफैंले राख्ने बताउनुभएको छ । साथै राष्ट्रपति पुरानै राख्ने कि नराख्ने भन्नेमा पार्टीले छलफल गर्ने कोइरालाको भनाइ छ ।
‘झलनाथ खनालजीले नै बोलिसक्नुभयो । दोस्रो दलको नेताले नै भनिसकेपछि सरकारको नेतृत्व सभापति सुशील कोइरालाले गर्नुहुन्छ’ नेता कोइरालाले भन्नुभयो- ‘अहिले वान म्यान वान पोष्ट गर्दाखेरि सभापतिले प्रधानमन्त्रीलाई अप्ठ्यारो पारिदिने र प्रधानमन्त्रीले सभापतिलाई अप्ठ्यारो पारिदिने हुन सक्छ । अहिलेका लागि सुशील कोइराला नै सभापति र प्रधानमन्त्री बन्नुहुनेछ ।’
राष्ट्रपतिका विषयमा कांग्रेसले सोच्ने
शुरुमा राष्ट्रपति पुरानै रहने र अन्तरिम संविधानले नै हटाउन नमिल्ने तर्क गर्नुभएका कोइरालाले संसदबाट चुनिएका बाबुराम भट्टराई अबैधानिक हुने तर राष्ट्रपति कसरी बैधानिक हुन्छन् भन्ने अनलाइनखबरको प्रश्नमा भन्नुभयो- ‘यसबारे कांग्रेसले पार्टीभित्र छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ । राष्ट्रपतिले पनि त सोच्नुभएको होला नि । तपाईहरुले उठाउनुभएको यो विषयमा नेपाली कांग्रेसले विचार गर्छ ।’
भारतको विरोध छैन
कांग्रेस केन्द्रीय सदस्य शशांकले सुशील कोइराला भारतबाट नरुचाइएका प्रधानमन्त्रीका पात्र हुन् भन्ने चर्चाको खण्डन गर्दै भन्नुभयो- ‘भारतले सुशीललाई मान्दै मान्दैनौं भन्छजस्तो मलाई लाग्दैन । सुशील कोइराला भारत भ्रमणमा जाँदाखेरि सोनिया गान्धी र मनमोहन सिंहले पनि भन्नुभएको छ, नेपाली कांग्रेस पुरानो र ऐतिहासिक पार्टी हो, तपाईहरुको ठूलो जिम्मेवारी छ ।’


0 comments
Write Down Your Responses