लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न सङ्घर्ष : नेम्वाङ
नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।
आइभि अलुम्नाई एसोसिएसन नेपालले शनिवार राजधानीमा आयोजना गरेको ‘नेपालमा प्रजातन्त्रको प्रवर्द्धन र विकास’ विषयक कार्यशालामा उहाँले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन तथा जनआन्दोलनका उपलब्धिलाई जोगाउने आधार तयार गर्ने प्रयासमा राजनीतिक दलहरू रहेका उल्लेख गर्दै विगतका अनुभवबाट सिकेर अघि बढ्न जरुरी भएको बताउनुभयो ।
”विगतका अनुभवबाट सिकौँ, अप्ठयारो पर्यो भनेर पछि नपरौँ,”- बितेका समयमा भएका परिघटनाबाट पाठ सिकेर अब जुनसुकै हालतमा संविधान बन्नुपर्नेतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो । अमेरिकी राजदूताबासका कार्यबाहक राजदूत जोन एल कारवाइलले देशले आफूले के दियो भन्दा पनि आफूले देशलाई के दियौँ भन्ने सोचका साथ नेपालीले राष्ट्र निर्माणको मार्गमा अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो । आइभानका अध्यक्ष तारानाथ दाहालले आइभान नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारको सेतु भएको उल्लेख गर्दैै त्यसलाई नेपालको विकास-निर्माणको प्रक्रियामा अझ रचनात्मक ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आइभानका उपाध्यक्ष केदार खड्का र महासचिव कोपिला अधिकारीले आइभानका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यशालामा पूर्वसभासद् राधेश्याम अधिकारीले ‘नयाँ संविधानद्वारा लोकतन्त्रको सुदृढीकरण’, पत्रकार अच्युत वाग्लेले ‘नेपालको बृहत् आर्थिक वृद्धिका लागि समग्र विकास निकायको सहभागिता’, महिला अधिकारकर्मी दुर्गा घिमिरेले ‘महिला बेचबिखनविरुद्धको सङ्घर्ष’ र कानुन व्यवसायी दिनेश त्रिपाठीले ‘स्वतन्त्र एवम् निष्पक्ष संविधानसभा निर्वाचनका निम्ति चुनौती न्यूनीकरण’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । रासस
यसमा तपाइको मत
0 comments
Write Down Your Responses

