काठमाडौ, पुस २० -
तिमीहरुजस्तै साना बाबुको कथा हो यो । उनको नाम, कौटिल्य पण्डित । उमेर- ५ वर्ष । भारतको हरियाणा राज्यको कोहान्द गाउँमा बसोबास गरिरहेका उनलाई कौटिल्य होइन अहिले 'गुगल ब्वाई' भन्न थालिएको छ । किन होला ? तिमीहरूलाई जिज्ञासा उठ्न सक्छ ।
गुगल एक सर्च इन्जिन हो । हामीलाई थाहा नभएका कति कुराहरू गुगलमा सर्च गरेपछि फेला पार्न सकिन्छ । त्यस्तै, कौटिल्य पनि गुगलजस्तै छन् रे । उनी एकपटक देखेको एवं सुनेको कुरा फटाफट भन्न सक्दा रहेछन् ।
तीक्ष्ण बुद्धिका धनी कौटिल्यसँग सामन्य ज्ञानको भण्डार नै छ । उनलाई जे सोध्यो, त्यसको सही जवाफ क्षणभरमै दिन सक्छन् । यसै वर्ष उनी आफ्ना आमाबुबासँग भारतकै आगरा भन्ने स्थान घुम्न गएछन् । घुम्ने क्रममा देखिएका साइनबोर्डहरुमा केके लेखिएको थियो, त्यो सबै कुरा घर फर्केपछि हुबहु सुनाएछन् । त्यति मात्र होइन उनले आफ्ना शिक्षकसामु विश्वका सबै महाद्वीप, महासागर, देश र त्यसको राजधानीका बारेमा सबै कुरा जस्ताको तस्तै भनेछन् । कौटिल्यको यो असाधारण क्षमता देखेर सबै चकित भएछन् र उनको नाम नै 'गुगल ब्वाई' राखिदिएछन् ।
यी गुगल ब्वाई भूगोल, इतिहास र सौर्य प्रणालीको बारेमा विशेष दख्खल राख्छन् । दुई महिनाअघि उनलाई भारतीय टेलिभिजन सोनीबाट प्रसारण हुने चर्चित कार्यक्रम 'कौन बनेगा करोडपति'मा समेत निम्त्याइएको थियो । हालै मात्र एक विद्यालयमा उनलाई 'प्रश्नोत्तर'कै लागि निम्त्याइएको थियो । त्यहाँ एक विद्यार्थीले हुँदै नभएको देशको नाम लिएर त्यसको राजधानी कुन हो ? भनी प्रश्न गरे । उनले सबै देशको नाम लिँदै भने, 'यस्तो नामको त कुनै देश छैन । छ भने तिमी आफैं बताऊ ।' कुनै पनि देशको धर्म र संस्कृतिसम्बन्धी पनि उनलाई पूरा ज्ञान छ । अतः एकपटक देखेको, सुनेको एवं पढेको कुरा दोहोर्याउनु पर्दैन । यसरी कुनै पनि कुरा क्षणभरमै ग्रहण गर्ने र त्यसलाई संग्रहित गर्न सक्ने उनको क्षमतामाथि कुरुक्षेत्र युनिभर्सिटीले अनुसन्धान गरिरहेको छ । चिकित्सकहरूसमेत उनको तीक्ष्ण बौद्धिक क्षमता देखेर चकित भएका छन् । कौटिल्य एसडी हरित मोर्डन स्कुलमा पढ्छन् । उनी बुबा सतिश र आमा सुमितको कोखबाट जन्मिएका हुन् । दाजु जयकृष्ण शर्मालाई उनी आफ्ना गुरु मान्छन् ।
गुगल ब्वाईका कुरा
Powered by Blogger.
0 comments
Write Down Your Responses