विदेशी पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न तारे होटल निर्माण गर्ने होडबाजी चलिरहेका बेलामा मूख्य सिजनमै नेपालमा पर्यटकको आगमन भने घट्दै गइरहेको छ । सन् २०१३ को मध्यतिरबाट घट्न शुरु भएको पर्यटक आगमन डिसेम्बरसम्म कायम रहृयो । डिसेम्बर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.९ प्रतिशतले पर्यटक संख्या घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार डिसेम्बर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ हजार ६ सय पर्यटक नेपाल भित्रिएका छन् । जबकी अघिल्लो वर्षको सोही महिनामा ४४ हजार ७ सय ७४ पर्यटकले नेपाल आएका थिए । मुख्य पर्यटकीय सिजनको मध्यतिर संविधानसभा चुनाव हुनु, चुनावलाई लक्षित गरी भएका बन्द हड्तालले पर्यटक आगमन प्रभावित भएको व्यवसायीहरुले बताएका छन् । बन्द हड्तालले पर्यटन व्यवसायमा दीर्घकालिन असर पार्ने पूर्व अर्थसचिव रामेश्वर खनाल बताउनुहुन्छ । कहाँबाट कति आए पर्यटक ? डिसेम्बरमा युरोपियन मुलुकबाट भ्रमणमा आउने पर्यटकको संख्या ८.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको डिसेम्बरमा युरोपियन मुलुकहरुबाट ८ हजार ४ सय ९७ पर्यटक नेपाल भित्रिएकामा यस पटक ७ हजार ७ सय ६२ पर्यटक नेपाल भित्रिएका छन् । बेलायत, इजरायल, डेनमार्कबाट नेपाल आउने पर्यटक उच्च संख्यामा घटेका छन् भने बेल्जियम, नर्बे, स्वीडेनबाट आउने पर्यटकहरु उल्लेख्य मात्रामा बढेका छन् । समग्रमा सार्क मुलुकबाट नेपाल आउने पर्यटक १.६ प्रतिशतले बढेका छन् । बंगलादेशबाट आउने पर्यटकको संख्या ४०.३ प्रतिशतले बढेको छ भने पाकिस्तानबाट आउने पर्यटकको संख्या ६७ प्रतिशतले घटेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या ४९.४ प्रतिशतले बढेको छ भने छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या भने १ प्रतिशतले घटेको छ । समग्रमा डिसेम्बर महिनामा सार्क मुलुकबाट १३ हजार ५ सय २१ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही महिनामा १३ हजार ३ सय २ पर्यटक नेपाल भित्रिएका थिए । चीन र दक्षिण कोरियाबाट पनि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा गिरावट आएको तथ्यांकले देखाउँछ । जुन कारण अन्य एशियाली मुलुकका पर्यटकहरुको आगमन ३.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको डिसेम्बरमा अन्य एशियाली राष्ट्रबाट १३ हजार ४ सय ४७ पर्यटक नेपाल भित्रिएकोमा यस पटक १३ हजार ३१ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । अष्ट्रेलियाबाट आउने पर्यटक संख्या १३.३ प्रतिशत र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेका छन् । डिसेम्बरमा ओसेनिया मुलुकबाट जम्मा १ हजार ९ सय १० पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकन मुलुकबाट नेपाल आउने पर्यटक पनि ६.१ प्रतिशतले घटेका छन् । यस महिना क्यानडा र युएसएबाट गरी ३ हजार ३ सय ६२ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको डिसेम्बरमा ती मुलुकबाट ३ हजार ५ सय ८० पर्यटक नेपाल आएका थिए । अन्य मुलुकबाट आउने पर्यटकको संख्या पनि १७.८ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । डिसेम्बरमा अन्य मुलुकबाट ३ हजार १५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्षको सोही महिनामा ३ हजार ६ सय ६७ पर्यटक नेपाल आएका थिए ।
मूख्य सिजनमा नै घटे नेपाल आउने पर्यटक भारत र चीनबाट आउने पनि कम
Powered by Blogger.
0 comments
Write Down Your Responses