कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो ! गोपाल किराती भन्छन्- ब्राह्मण र खसले राज्य माग्नु जायज छ

जातीय पहिचानसहितको संघीयताको एजेण्डा उठाउँदा एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीलाई ‘जातिवादी’ आरोप लाग्ने गरेको छ । किराती आफैं पनि यस्तो जातीय वकालतबाट वाक्क भैसक्नुभएको रहेछ । ‘कस्तो संसार बनाउन भनेर हिँडेको मान्छे, यही जातीय कुरामा अल्झिनुपरेको छ,’ किरातीले अनलाइनखबरसँग मनको कुरा खोल्नुभयो ।
6a00d8341df99053ef0133f4e505a4970b-800wi जाडो छल्न शेर्पा टोपी लगाएर झुल्किनुभएका किरातीसँग पेरिसडाँडाको चौरीमा बसेर कफी खाँदै अनलाइनखबरले प्रश्न गर्‍यो, ‘एमाओवादीले अब जातीय पहिचानको सवालमा कस्तो नीति अपनाउँदा ठीक होला ? तपाई त केही न केही सोचिराख्ने नेतामा पर्नुहुन्छ, तपाईको दिमागमा यतिबेला के छ ?’
अनलाइनखबरको प्रश्नमा गोपाल किराती (साइँला)ले ब्राह्मण र खसहरुले आफ्नो राज्य खोइ भनेर प्रश्न उठाउनु जायज भएको तर्क गर्नुभयो । अब जातीय पहिचानको विरोध गर्ने र लिम्बुवान, ताम्सालिङ खोस्ने होइन कि क्षेत्रीबाहुनलाई पनि अलग्गै राज्य दिइनुपर्ने उहाँले बताउनुभयो । ‘पछि हट्नु भनेको प्रतिगमन हो, अब खस मोर्चा र खसान राज्य बनाएर अघि बढ्ने नीति लिनुपर्छ,’ किरातीले बख्खेटोपी कहिले भुइँमा राख्दै त कहिले शीरमा लगाउँदै भन्नुभयो, ‘मैले पूर्वपोलिटब्युरो बैठकमा यो कुरा भनिसकेको छु, यसमा बाबुराम भट्टराईजीसमेत सकारात्मक देखिनुभएको छ ।’
 संविधानसभा निर्वाचनमा पहिचानसहितको संघीयता पक्षधरले अपेक्षा गरेको भन्दा विपरीत मत आएपछि एमाओवादीमा यतिबेला संघीयताबारे पार्टी लिएको नीतिमाथि नै समीक्षा गर्नुपर्ने आवाज प्रमुख नेताबाटै उठन थालेका बेला किरातीले बाहुन क्षेत्रीलाई पनि राज्य दिनुपर्ने माग अघि सार्नुभएको हो ।
खस ब्राम्हणको राज्य खोइ भन्ने प्रश्न जायज
नेता किराती अब पार्टीमा खस जातिको समेत मोर्चा बनाउने र संघीय संरचनामा जाँदा पश्चिम नेपालमा खसान प्रदेश बनाउने प्रस्ताव राख्नुभएको छ । किरातीले पश्चिम नेपाल (कर्णाली-सेती महाकाली) मा प्रगतिशील खसान मोर्चा बनाउनुपर्‍यो भन्दै खसान राज्य समिति बनाउने प्रस्ताव गर्नु भएको छ ।
किरातीले खसहरुको छुट्टै राज्य नबनाउने हो भने माओवादीले पहिचानसहितको संघीयता ल्याउन नसक्ने दाबी गर्नुभएको छ । आफ्नो यस्तो सुझावपछि पछिल्लोपटक पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई र पूर्वमहासचिव पोष्टबहादुर बोगटी सकारात्मक देखिनुभएको उहाँको भनाइ छ ।
किरातीले अनलाइनखबरसँग भन्नुभयो-’पहिचानको संघीयतालाई बुझाउन यसो गर्न एकदमै जरुरी छ, नगरे हाम्रो पार्टीले पहिचानको संघीयता ल्याउन सक्दैन । भ्रम खण्डन गरी साध्ये नहुने भो ।’download
आफूलाई लिम्बुको नाममा लिम्बुवान, मगरको नाममा मगराँत भएपछि खस ब्राम्हणको खै ? भन्ने प्रश्न आउने गरेको भन्दै उहाँले त्यो प्रश्न जायज भएको बताउनुभयो । ‘मान्छेले बराबरी खोज्नु उसको अधिकार हो । खसहरु नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहयता नेतृत्वकर्ता समूदायका रुपमा स्थापित छन् । तर, बहुजातीय, बहुभाषिक मुलुक भएकाले देशमा खस जातिको एकाधिकार समस्या भएको हो’ उहाँले भन्नुभयो-’लिम्बुको नाममा लिम्बुवान, मगरको नाममा मगराँत, तामाङको नाममा ताम्सालिङ गरिसकेपछि खस ब्राम्हणको खै ? भन्ने प्रश्न जायज छ ।’
माओवादीमा मिसिनु अघि किरात वकर्स पार्टीमा रहेका किरातीले प्रस्ताव गरेको संघीय संरचनामा यसअघि पनि खसान राज्य थियो । नेपालमा रहेका खसहरुको मनोबैज्ञानिक सम्मानका लागि खसान राज्य जरुरी भन्दै उहाँले भन्नुभयो-’खस मोर्चा बनाउनु पर्‍यो । यसो गर्दा प्रगतिशील हुन्छ तर, लिम्बु, तामाङ, मगर सबैको हटाउँ भन्दा प्रतिगामी हुन्छ । तर, माओवादी पार्टीमा पनि कतिपयको चिन्तन पनि प्रतिगमनलाई सहयोग गर्ने खालको छ ।’
कमानसिंहलाई भनें – ताम्सालिङ चलाउन सक्नुहुन्न
०६८ वैशाखमा किरातीले पार्टीमा खसहरुको मोर्चा बनाउने प्रस्ताव राख्दा जनजाति नेताहरु हामी मान्दैनौं भन्दै उफि्रए । किरातीको प्रस्तावको विरोध गर्नेमा हाल दक्षिण कोरियाको राजदूत रहेका कमानसिंह लामादेखि वैद्य माओवादीतिर लागेका देव गुरुङ र सुरेश आलेमगरसम्म हुनुहुन्थ्यो ।
‘पेरिसडाँडामा मेरो खसान मोर्चासम्बन्धी प्रस्तावमाथि जनजाति नेताहरुले प्रश्न उठाउनु भो, कमानसिंह लामाले यो खसमोर्चा म मान्दिँन भन्नुभो’ पुरानो स्मरण कोट्याउदै माओवादी नेता किरातीले अनालाइनखबरको टोलीलाई सुनाउनुभयो- ‘मैले लामालाई समातेर भनंे, ‘तपाईले मान्नुपर्छ ।’ ‘मान्दिँन तपाईले के गर्नुहुन्छ ?’ भनेर उहाँ चर्किनु भो । मैले भनेँ, ‘खस मोर्चा तपाई मान्नुहुन्न र खसान गणराज्य स्वीकार गर्नुहुन्न भने तपाई ताम्सालिङ पाउनुहुन्न, पाइहाले पनि तपाईले चलाउन सक्नुहुन्न ।’
त्यसैगरी सुरेश आले र देव गुरुङले पनि खस राज्य कहाँ हुन्छ गोपालजी भदै खसहरुको मोर्चा बनाउनु भनेको दमनका लागि हो भन्ने तर्क गरेको किरातीले बताउनुभयो ।
 पहिचानबारे एमाओवादी नेतामै अस्पष्टता
पहिचानसहितको संघीयताबारे एकीकृत नेकपा माओवादी नेताहरु नै अस्पष्ट रहेको किरातीको आरोप छ । उहाँले भन्नुभयो- ‘संघीयताको सवालमा अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र हरिबोल गजुरेल प्रष्ट हुनुहुन्छ, जन्मले ब्राम्हण तर कर्मले माक्र्सवादी, लेलिनवादी र माओवादी कम्युनिष्ट अरु धेरै नेताहरुमा अस्पष्टता छ । कतिपय त विरोधी पनि हुनुहुन्छ ।’ उहाँले अघि भन्नुभयो-’जातीय सवलमा कर लाग्यो भने पार्टीको नीति भनिदिने अन्यथा आफूले पहल गरेर नभन्ने ।’
 एमाओवादीको नीति नै गलत
किरातीले एमाओवादीको जातीय नीति गलत भएको भन्दै सच्याउन माग गर्नुभएको छ । उहाँले भन्नुभयो-’जातीय नीति निर्माणको सवालमा लेनिनवादी दृष्टिकोणबाट हेर्दा एकीकृत नेकपा माओवादीको नीति त्रुटीपूर्ण छ, एकांकी छ, यसलाई सच्याउनुपर्छ ।’
Gopal_Kiratiपहिचानको एजेण्डा छाड्ने हो भने एमाओवादी जनताबाटै लखेटिने उहाँको चेतावनी छ । ‘पहिचानको कुरा छाड्ने हो भने ताम्सालिङ, लिम्बुवान, मगरात सबै राज्य समिति हटाइदिनुपर्‍यो, हटाइसकेपछि जनताको तहबाटै माओवादी लेखेट्ने काम हुन्छ, त्यसपछि प्रतिक्रान्ति पूरा हुन्छ । देख्यौ ? यो माओवादी त फटाहा, धोकेबाज हो नि भन्दै साम्राज्यवाद आउँछ’ किरातीले भन्नुभयो ।
एड्स नै लाग्यो कि क्या हो ?
खस मोर्चा गठनसम्बन्धी किरातीको प्रस्ताव यतिबेला केन्द्रीय समितिबाट स्थायी समितिमा पठाइएको छ । तर, अझै छलफल हुन सकेको छैन । उहाँले भन्नुभयो- ‘०६८ सालको केन्द्रीय समितिमै ‘खस मोर्चाबारे’ भन्ने एजेण्डा राखियो, स्थायी कमिटीमा पठाउने भनियो, अहिलेसम्म रोग ग्रस्त भएर बसेको छ । कहिलेकाँही नेताहरुलाई भन्ने गरेको छु, ‘एड्स नै लाग्यो कि क्या हो खस मोर्चाको प्रस्तावलाई ?’
 बामपुड्के बनेर बस्नु परेको छ
जातीय एजेण्डा उठाउँदा आफूले धेरै हैरानी खेप्नुपरेको किरातीले सुनाउनुभयो । ‘जबसम्म यो पार्टीका कमरेडहरु जातीय, क्षेत्रीय मुक्तिको निम्ति पहलकर्ता बन्नुहुन्न, तबसम्म यो साइँलाले दुःख पाइराख्नुपर्छ । जुन दिन मुक्ति हुन्छ, त्यसको भोलिपल्टै देखि म जाति र पातिको शब्द बन्द गरिदिन्छु, मलाई त हैरान नै लागेको छ’ किरातीले भन्नुभयो-’कस्तो संसार बनाउन लागेको, यही खुडि्कलो उक्लिन नसकेर वामपुड्के बनेर बस्नु परेको छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.