समाज बदल्दैछिन् सुभद्रा बजगाईं सडकबाट उठेर सामाजिक अभियन्ता

कुनै समय सुभद्रा बजगाई ललितपुरको चापागाउँमा सडकमा पसल थापेर दैनिक गुजारा चलाउँथिन् । तर, अहिले उनको जीवनको परिभाषा फेरिएको छ । सानो पेशा व्यवासाय गर्ने भन्दै हुनेखानेहरुले सुभद्राजस्ता निम्न आयस्तरका मानिसलाई नजरअञ्दाज गरे पनि समाज परिवर्तनमा उनीहरुको महत्वपूर्ण भूमिका रहने सुभद्राले आफ्नै व्यवहारबाट प्रमाणित गरेकी छन् ।
ललितपुरको देवीचौरस्थित श्रीदेवी महिला वचत तथा ऋण सहकारी संस्था र जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष बन्न सफल बजगाई सहजै सडकबाट यस स्थानमा आइपुगेकी होइनन् । जीवनमा विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आउन सफल भएको उनको अनुभव छ ।
Suvadra-Bajagai-Lalitpur
‘सहकारीमा आवद्ध हुनुअघि मेरो अवस्था अत्यन्त नाजुक थियो’ उनले विगत सम्झँदै भनिन्– ‘सडकमा बदाम र सुन्तला बेचेर त्यसबाट भएको आम्दानीबाट बल्ल–बल्ल परिवार पाल्नुपथ्र्यो ।’ सडक व्यापारबाट दिनमा साढे २ सयको हाराहारीमा कमाउने गरेको बताउँदै उनले उक्त पैसा घरभाडा तिर्ने, बच्चा पढाउने, खाने–लाउने गर्नुपर्ने अवस्था रहेको बताइन् ।
सुभद्राका पतिले फर्निचर उद्योगमा काम गर्ने भए पनि कमाइ राम्रो थिइन । घर परिवारले नसोधी पन्ध्र वर्षको उमेरमा विवाह गरिदिएको सम्झँदै उनले भनिन्– ‘विवाह गरेर पतिसँग आउँदा बल्ल थाहा भयो उहाँको घरबार नै रहेनछ, अनि घर नभएपछि मलाई कोठामा भित्राइएको थियो ।’ ०५८ सालसम्म आफ्नो भन्ने जग्गा जमीन र घर नभएको उनको भनाइ थियो ।
त्यसपछि ऋणधन गरी देवीचौरमा एक कठ्ठा जग्गा किनेर बसाइ सारेपछि सुभद्राको जीवनले नयाँ मोड लिन्छ । जग्गा किनेर बसेपछि ३५ हजारमा किनेको भैंसी मरिहाल्यो भन्दै उनले पुनः अर्को भैंसी ऋण गरेर किनेको बताइन् । दोस्रो भैंसीले उनलाई राम्रै आम्दानी दिएको थियो । उनी देवीचौरमा गएपछि महिला समुहमा आवद्ध हुन पुग्छिन् । महिला समुहले आफूलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउने काम गरेको उनले बताइन् ।
तीन वर्षअघि ०६७ साउन १३ गते महिला समुहले २७ जनाबाट सुरु गरेको सहकारीमा अहिले ४ सय ७२ जना सदस्य पुगिसकेका छन् । ‘साउनमा रीता तामाङ अध्यक्ष भएर सहकारी दर्ता गरे पनि फागुनसम्म कुनै काम भएन’ उनले भनिन्– ‘झण्डै ८ महिनापछि फागुन १६ वाट कारोबार सुरु गरेका हौं ।’
महिला विकासले फागुन महिनामै बजगाईंलाई सहकारीको अध्यक्ष बनाइदिएपछि कारोबार सुरु भएको हो । सहकारीलाई सब–नेपालले भौतिक तथा प्राविधिक सहयोग गरेको छ । महिला समुहमा आवद्ध बजगाईं समुहमा काम गर्दै जाँदा अध्यक्ष बन्न सफल भइन् । त्यही समुहबाट सञ्चालन गरेको सहकारीमा उनी अहिले अध्यक्ष रहेकी छिन् । उनले सहकारीमार्फत गाउँका दिदी बहिनी तथा आमाहरुलाई सहकारीमा आवद्ध गराएको बताइन् ।
सहकारीमा काम गर्दागर्दै उनी भूमि अधिकार मञ्चमा आवद्ध हुन पगिन् । सहकारीमा महिलालाई आवद्ध गर्न खोज्दा विभिन्न अपहेलना सहनुपरेको उनको भनाइ छ । महिलालाई संगठित गरेर हिँड्दा गाउँलेहरुले उनलाई मेरी स्वास्नी भाँडी, छोरीहरु भा“डेर लगी भन्नेसम्म आरोप लगाउने गर्थे । तर, उनले हिम्मत नहारी अगाडि बढ्दै गइन् ।
फलेको रुखमै झटारो
काम गर्ने क्रममा उनलाई धेरै आरोप पनि लगाइयो । फलानासँग हिंडी, ढिस्कानासँग लसपस गरी भनेर गाउँभरि धज्जी उडाउने गरेको उनले अनलाइनखबरलाई बताइन् । ‘गाउँका विशिष्ट मान्छे भनाउँदाहरुले पनि मलाई मोसो दलेर गाउँनिकाला गर्नुपर्छ भने’ सुरुवातको संघर्ष सम्झँदै उनले भनिन्– ‘त्यो बेलामा दिनमा १० पटक रोएर काममा हिँड्थें, कतिपय बेला त मर्न पाए पनि हुन्थ्यो भन्ने जस्तो लाग्थ्यो ।’
गाउँलेले कुरा काटे पनि पति र छोराछोरीले आफ्नो अभियानलाई पुरै सहयोग गरेको उनको भनाइ थियो । उनले भनिन्– ‘सब नेपाल संस्थाले पनि काम गर्दै अगाडि बढ्न मलाई ठूलो सहयोग गर्यो ।’
एक दिन टीकाभैरवमा हिँड्दै गर्दा एकजना शुभचिन्तकले दिएको सुझावले उनलाई काम गर्न अहिले पनि ढाडस दिने गर्छ । त्यतिबेला ती शुभचिन्तकले उनलाई बहिनी, फल फलेको ठाउँमा झटारो हान्छन्, नफलेको ठाउँमा कस्ले झटारो हान्छ र ? तपाईले केही गर्नुभएको छ र पो तपाईलाई आरोप लगाइएको छ, केही नगर्ने बटुवालाई कसले आरोप लगाउँछ भनेर ढाडस दिएको शुभद्राले कहिल्यै बिर्सन्नन् ।
अहिले ती शुभचिन्तकले भनेका कुरा सम्झिएर काम गर्ने गरेको उनले अनलाइनखबरलाई बताइन् । ‘हिजो सडकमा छँदा यसले छोराछोरी कसरी पाल्छे भनेर भन्थे, आज प्रगति गर्दै जा“दा पनि इज्जत फाल्दै डलर कमाउन हिँडेकी छे भनेर आरोप लगाइरहेका छन्’ उनले विगत सम्झिइन्– ‘मलाई अहिले आएर लाग्छ, मैले सा“च्चै डलर नै कमाउन सकेकी रहेंछु ।’
तीन सय महिला कृषक बने
अहिले सहकारीबाट उनीमात्र होइन, गाउ“मै कायपलट ल्याउन सफल भएकी छिन् सुभद्रा । केही गर्न नजानेका स्थानीय ३ सय महिला सहकारीबाट ऋण लिएर कृषक बनेका छन् । उनीहरुले आफुले उत्पादन गरेको तरकारी लगन खेलसम्म बेच्न आउने गरेका छन् ।
सहकारीकै कारण अहिले गाउँमा गाइवस्तु पाल्ने, तरकारी लगाउने, कुखुरा पाल्ने काम भइरहेको छ । सहकारीबाट ऋण दिएर उनीहरुलाई कृषिमा प्रोत्साहित गरेको उनको भनाइ थियो । अहिले त्यस भेगका अधिकांश महिलाहरु आत्मनिर्भर भइसकेका छन् ।
आफूले पनि कुखुरा पाल्ने, तरकारी लगाउने, भैंसी पाल्ने गरेको बताउँदै उनले विहान एउटा क्याम्पसमा सहायकको काम समेत गर्न भ्याएको सुनाइन् । उनले सिजनमा काँक्रो लगाएर दैनिक ४/५ सय केजीसम्म बेच्ने गर्छिन् । उनलाई अहिले आफ्नो खर्च जुटाउन दायाँबायाँ सोच्नु पर्दैन । पतिले देलान् भनेर आशा पनि गर्नुपर्दैन ।
निरन्तर प्रतिवद्ध भएर काम गर्दै अगाडि बढ्दा उनी गाउँ भूमिअधिकार मञ्चमा आवद्ध हुन पुगिन् । त्यसपछि जिल्ला भूमि अधिकार मञ्चमा सदस्य भएर ५/६ महिना काम गरिन् । अहिले उनी त्यही मञ्चको जिल्ला अध्यक्ष छिन् ।
‘पहिला राम्रोसँग बोल्न नजान्ने म अहिले धेरै जान्न भइसकें’ उनले भनिन्– ‘अहिले म जिल्ला कृषि विकास, नेफस्कुन, जिल्ला बचत संघ, महिला समुह लगायत दर्जनजति संस्थामा आवद्ध छु ।’ धेरै ठाउ“मा आवद्ध भएका कारण अहिले महिनामा १० दिन पनि घरलाई समय दिन नभ्याउने उनको भनाइ छ ।
‘सडकमा व्यापार गर्ने म यहाँसम्म आइपुग्दा निकै खुसी लाग्छ । सबै जनाले मेरो कामलाई रुचाउनुभएको छ । पहिला डलर खान इज्यत फाल्दै हिँडी, परपुरुषसँग लागि भनेर आरोप लगाउनेहरु अहिले मिलेर काम गरौं भन्दै आउनुहुन्छ, उनले भनिन्– ‘म अहिले ठूलो संघर्ष गरेर यो अवस्थासम्म आइपुगें । मेरो आगामी लक्ष्य भनेको म पुगेको ठाउँसम्म देवीचौरका सबै महिलालाई पुर्याउने र आफु अझ अगाडि बढ्ने रहेको छ ।’
उनी गाउँका सबै महिलाहरुको ओठमा हाँसो ल्याउने र सबै महिलाहरुलाई भूमिमा अधिकार दिलाएर छाड्ने अठोटका साथ हि“डिरहेकी छिन् । उनका एउटा छोरा र एउटी छोरी छन् । छोरी स्नातक पढ्दै छिन् भने छोरा ९ कक्षामा पढ्छन् ।  पतिले उनलाई सघाउने गर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.