नेपाली विद्यार्थीका निम्ति उपयुक्त शैक्षिक गन्तव्य बनेको छ— अस्ट्रेलिया। त्यसैले केही समययता अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढ्दै गएको वैदेशिक शिक्षा परामर्शदाताहरू बताउँछन्। अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने उद्देश्यसहित 'भिसा प्रक्रिया' केही खुकुलो बनाएपछि अस्ट्रेलिया जानेहरूको संख्या बढेको हो। 'तुलनात्मक रूपमा अहिले सजिलो छ,' पुतलीसडकस्थित सिद्धार्थ इन्टरनेसनल एजुकेसन सेन्टरकी बिजनेस डेभलपमेन्ट म्यानेजर कृतिका ओझा भन्छिन्- 'त्यसैले अरू देशभन्दा अस्ट्रेलिया जाने विद्यार्थी बढेका हुन्।' पढ्नकै निम्ति जाने 'जेन्युन' विद्यार्थीलाई अस्ट्रेलिया विगतमा जस्तो झन्झटिलो नभएको उनको दावी थियो। अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर अस्ट्रेलियाले सन् २०१२ को मार्च २४ मा स्टि्रमलाइन भिसा नीति ल्यायो। उक्त प्रक्रियामा कुनै पनि मुलुकका विद्यार्थीले स्नातक, स्नातकोत्तर, पीएचडी तथा व्यावसायिक शिक्षा अध्ययनका लागि छनौट गरिने मापदण्ड विश्वविद्यालयले तय गर्छ, जसअन्तर्गत विद्यार्थीले पहिलो वर्षका लागि आवश्यक पढाइ र खाने बस्ने खर्चको व्यवस्था गर्नुपर्छ। त्यसपछि कसरी खर्च जुटाउने भन्ने सम्वन्धमा पनि स्पष्ट आधार देखाउनुपर्छ। विगतमा नबिल र एसबीआई बैंकबाट मात्र आर्थिक दस्तावेज तयार गर्ने प्रावधान थियो। फलतः बैंक उपलब्ध नभएका स्थानका विद्यार्थीले अस्ट्रेलिया जानबाट वञ्चित हुनुपर्ने अवस्था थियो। अहिले भने कुनै पनि कमर्सियल बैंकबाट आर्थिक दस्तावेज बनाउन सकिने डाइनामिक युनिभर्स एजुकेसन तथा इमिग्रेसन सर्भिसेस प्रालिका कार्यकारी निर्देशक राजकुमार बर्तौला बताउँछन्। 'डकुमेन्टेसनमा पहिले जस्तो समस्या छैन,' बर्तौला भन्छन्- 'यसले गर्दा पनि अस्ट्रेलिया जाने विद्यार्थी बढेका हुन्।' विगतमा चाहेर पनि कतिपय जेन्युन विद्यार्थी अस्ट्रेलिया जान नसकेको उनको भनाइ छ। अंग्रेजी भाषाका लागि लिइने आइइएलटिएस परीक्षामा विगतमा निर्धारण गरिएको अंक हासिल गर्नैर्पर्ने बाध्यता छैन। '६ स्कोर निर्धारण गरिएको ठाउँमा ५ स्कोर ल्याए हुन्छ,' गर्तौलाले थपे- 'तर, उनीहरूले अस्ट्रेलिया पुगेपछि कोर्स पूरा गर्नैपर्छ।' त्यस्तै एकेडेमिक रूपमा निर्धारित मापदण्ड पूरा नगरेका विद्यार्थीहरू 'फाउन्डेसन कोर्स' थपेर जान सक्छन्। उनीहरूले फाउन्डेसन कोर्स पूरा गरेपछि मात्र त्यहाँ अध्ययनलाई थप निरन्तरता दिन सक्छन्। सहज भिसा प्रक्रियाका साथै अध्ययनपछि पोस्ट स्टडी वर्कको अवसरले थुप्रै नेपाली विद्यार्थीको ध्यान अहिले अस्ट्रेलियातर्फ मोडिएको पुतलीसडक स्थित इन्र्फमेटिक्स कन्सल्टेन्सी प्रालिका सीईओ ज्ञानेन्द्रमान जोशी बताउँछन्। 'स्नातक तथा मास्टर्स पछि दुई वर्ष काम गर्न पाउँछन्,' जोशी भन्छन्- 'जसले गर्दा पढेको कुरा व्यवहारमा उतार्न पाइन्छ।' त्यसका साथै साताको २० घन्टा वैधानिक रूपमा काम गर्न पाइन्छ। यद्यपि विद्यार्थीले कमाइमा भन्दा पढाइमा ध्यान केन्दि्रत गर्नुपर्ने जोशीको सुझाव छ। 'कतिपय विद्यार्थी स्टुडेन्ट भिसा बोकेर कमाउने उद्देश्यले पुग्छन्' जोशी भन्छन्- 'तर, यस्तो सोच राख्नु पूर्णतः गलत हो।' नेपाली विद्यार्थीहरू लर्निङका साथै अर्निङको उद्देश्यले बिदेसिने परामर्शदाताहरूसमेत स्वीकार गर्छन्। उनीहरू पढाइसँगै आय-आर्जन गर्ने सोचबाट प्रेरित हुन्छन्। त्यसो त अस्टे्रलियाजस्तो मुलुकमा पढ्न जाने विद्यार्थीले निश्चित अवधी काम गर्न पाउने व्यवस्था छ। यसरी गरिने कमाइबाट उनीहरूले आफ्नो पढाइ खर्च धान्न सकून् भन्ने हो। यद्यपि पढाइको बहानामा कमाइ गर्न जाने विद्यार्थीका लागि अस्ट्रेलियाको बाटो साँघुरो भएको छ। उसले वास्तविक विद्यार्थीलाई मात्र पढ्नका लागि अनुमति दिने प्रक्रिया मिलाएको छ। यसअन्तर्गत विद्यार्थीले 'पढ्नकै लागि जान लागेको' प्रमाणित गर्न सक्नुपर्छ। त्यहाँका विश्वविद्यालय/कलेजहरूले 'जेन्युन टेम्पोररी इन्ट्रान्स' मापदण्ड लागू गरेका छन्। सन् २०११ नोभेम्बर ५ मा ल्याइएको यो नीतिले निश्चित अवधिका लागि पढ्न जाने विद्यार्थीलाई आमन्त्रण गरेको छ। 'वास्तविक विद्यार्थी भित्र्याउने उद्देश्य हो,' ओझा भन्छिन्, 'यसअन्तर्गत शिक्षा आर्जन गरेर आफ्नै देश र्फकनुपर्छ।' विद्यार्थीको पृष्ठभूमि, अन्तर्वार्ता तथा उसको भविष्यका लागि सम्बन्धित कोर्सको महत्वका आधारमा जेन्युुन टेम्पोररी इन्ट्रान्टले मूल्यांकन गर्छ। के छ आकर्षण ? मूलतः गुणस्तरीय शिक्षा नै अस्ट्रेलियाको आकर्षण हो। अध्ययनपछि विश्व बजारमा रोजगारीको अवसर खोज्न सकिन्छ। अस्ट्रेलिया आफैंमा समृद्ध मुलुक हो। हाम्रो जस्तो अल्पविकसित मुलुकका विद्यार्थीलाई त्यहाँको भौतिक सुविधा, उच्च जीवनशैलीले आकषिर्त गर्ने नै भयो। निश्चित अवधिको बसाइ र कामपछि स्थायी बसोबासका लागि आवेदन दिन सकिन्छ। त्यस्तै, कुनै पनि तहको अध्ययनपछि २ वर्षसम्म वैधानिक रूपमा काम गर्न पाउने अवसरले पनि विद्यार्थीहरूलाई अस्ट्रेलियातर्फ तानेको छ। गोकुल क्षेत्री, सिइओ इन्सपायर एजुकेसनल कन्सल्टेन्सी, हनुमानस्थान तुलनात्मक रूपमा अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढी छ, किन होला ? निश्चय नै अहिले अस्ट्रेलियातर्फ विद्यार्थीको ध्यान केन्दि्रत भएको छ। यसका केही कारण छन्। मुख्य कुरा अस्ट्रेलियाले प्रदान गर्ने अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा नै हो। उसले मार्केट ओरियन्टेट शिक्षा प्रदान गर्छ। ग्लोबल मार्केटका लागि कस्तो जनशक्तिको खाँचो छ ? त्यहीअनुरूपको पाठ्यक्रम डिजाइन गरिएको छ। अर्को चाहिँ विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्न सक्छन्। कस्तो सुरक्षा ? दुई किसिमको सुरक्षा। एक त आफ्नो लगानीको र अर्कोचाहिँ शारीरिक सुरक्षा। अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षालाई कानुनसम्मत ढंगले सम्बोधन गर्ने विश्वका तीन मुलुकमध्ये एक हो— अस्ट्रेलिया। त्यसबाहेक सिंगापुर र न्युजिल्यान्डमा यस किसिमको कानुन छ। यसैले पनि अन्तर्राष्ट्रिय शिक्षाका लागि अमेरिकापछिको दोस्रो गन्तव्य बनेको छ यो मुलुक। पछिल्लो समय अमेरिकाभन्दा अस्ट्रेलिया जानेहरूको संख्या बढेको छ भनिन्छ नि ? तुलनात्मक रूपमा अस्ट्रेलियाको भिसा प्रक्रिया पारदर्शी छ। पढ्नकै लागि जान चाहने विद्यार्थीले सहज रूपमा भिसा प्राप्त गर्न सक्ने वातावरण छ। ठगिने सम्भावना अत्यन्तै न्यून छ। तर, विगतमा ठगिएका घटनाहरू पनि सार्वजनिक भएका थिए ? अस्ट्रेलियामा त्यसरी विद्यार्थी ठगिएका छैनन्। बरु, बेलायतको सन्दर्भमा त्यस्ता समाचार आउँछन्। मैले अघि पनि भनें, अस्ट्रेलियामा आफ्नो सुरक्षाका लागि अन्तर्राष्ट्रिय विद्यार्थी अधिकारसम्पन्न छन्। यदि कुनै कलेजबाट उनीहरू ठगिए सरकारले नै अर्को कलेजमा ट्रान्सफर गरिदिन्छ। त्यस्तै, विद्यार्थी जुन विषय पढ्न पुग्छन्, त्यो पढ्न नपाएको अवस्थामा सुरुदेखि गरेको लगानी फिर्ता गरिन्छ। त्यसो भए अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति अस्ट्रेलिया अनुकूल छ ? एकदमै अनुकूल छ। किनभने त्यहाँ रंग भेद छैन। त्यहाँको कुल जनसंख्यामध्ये अधिकांश आप्रवासी छन्। सांस्कृतिक विविधता छ। त्यसबाहेक पढाइ पछि काम गर्ने अवसर छ। एकतर्फी हेर्दा पढ्नका लागि बिदेसिनुलाई राम्रै मान्न सकिएला, तर त्यसको दीर्घकालीन प्रभाव सकारात्मक होला त ? तपाईंले ब्रेन ड्रेनको कुरा उठाउनुभएको होला। एक हिसाबले यो कुरालाई हामी नकार्न सक्दैनौं। यद्यपि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। अर्को कुरा ब्रेन ड्रेन मात्र भएको छैन, बेस्ट ब्रेन पनि नेपाल भित्रिएको छ। विदेशबाट स्किल लिएर नेपाल भित्रिनेहरू पनि उल्लेख्य छन्।
जलेश्वर टुडे
0 comments
Write Down Your Responses