भारतीय नायक आमिर खानले खेलेको चर्चित फिल्म 'धुम-३’ ले दुई सातामै नेपालभित्र जेजति (६ करोड रुपैयाँ) व्यापार गर्यो, त्यसबाट औसत ३० लाख लाग्ने नेपाली फिल्महरू १८ वटासम्म बन्न सक्ने रहेछन् । अनि नेपालमा विदेशी फिल्महरू, जसमा अधिकांशतः हिन्दी हुन्छन्, ले बर्सेनि गर्ने व्यापार (करिब ३० करोड) त हाम्रो समग्र फिल्म जगत्को वाषिर्क निर्माण लागत बराबर हुँदोरहेछ । कान्तिपुरको एक समाचारमार्फत शनिबार सार्वजनिक भएको यो तथ्यांकले नेपालमा फिल्मको बजार
छैन या दर्शकहरूले सिनेमा हेर्न पैसा खर्च गर्दैनन् भन्ने चलनचल्तीको धारणालाई
सरासर खण्डन गर्छ ।
अझ एउटै सिनेमाघरमा धेरैवटा पर्दाहरू भएका 'मल्टिप्लेक्स’ हरू काठमाडौंमा भित्रिएपछि त मध्यम र उच्चवर्गको ठूलो जमात हलमै गएर फिल्म हेर्न अभ्यस्त भएको छ । मल्टिप्लेक्सहरूले अन्य हलको तुलनामा बढी शुल्क लिने भएकाले आर्थिक कारोबार पनि बढ्ने नै भयो । तर, फिल्ममा करोडौं खर्चिन थाले पनि नेपालीहरूले आफ्नै भाषामा बनेका फिल्मभन्दा विदेशी चलचित्र बढी रुचाउँदा रहेछन् र हाम्रो फिल्मी खर्चको बहुमत हिस्सा विदेशतिरै जाँदोरहेछ । हुन पनि केही अपवादबाहेक नेपाली फिल्महरू हेर्नैपर्ने वा मन पराउनैपर्ने कारण पनि देखिन्न । प्रश्न उठ्छ, आखिर किन यस्तो भयो ?
संख्यात्मक हिसाबले नेपालमा उल्लेख्य फिल्महरू बन्ने गरेका छन् -यस वर्षभरिमा ११० वटा ँरिलिज’ हुँदै छन्) । प्राविधिक दृष्टिले हेर्दा, खासगरी छायांकन, स्वरांकनलगायतका क्षेत्रमा नेपाली फिल्महरूले राम्रै फड्को मारेका छन् । तर, प्रविधिको अत्याधुनिक प्रयोगले मात्र फिल्म चल्ने होइन, त्यसका निम्ति कथावस्तु, विषयको प्रस्तुति, अभिनय, निर्देशन आदिमै नवीनता, विविधता र मौलिकता
चाहिन्छ । अधिकांश नेपाली फिल्ममा यसैको कमी छ । प्रायः चलचित्र भारतीय बलिउडका स्वदेशी संस्करणजस्ता लाग्छन् । त्यसैले दर्शकले पैसा खर्च गरेर नक्कल गरिएका फिल्म हेर्नुभन्दा सहजै बजारमा उपलब्ध सक्कली फिल्मबाटै मनोरञ्जन लिन्छन् । त्यसैले नेपाली निर्देशक-निर्माताहरूले विचार पुर्याउनुपर्ने मूल पक्ष भनेकै आफूले बनाउने फिल्मलाई कसरी मौलिक, भिन्न र दर्शकले रुचाउने किसिमको बनाउन सकिन्छ भन्नेतर्फ हो । फिल्म बनाउन अध्ययन, मिहिनेत, कला र सिर्जनात्मकता चाहिन्छ भन्ने कुरालाई उनीहरूले पहिलो सर्त बनाउनुपर्छ ।
केही वर्षयता फरक धारका र मल्टिप्लेक्समा पनि राम्रै व्यवसाय गर्न सक्ने नेपाली फिल्मसमेत नबनेका होइनन्, तर तिनको संख्या अत्यन्त सीमित भयो । खासगरी करिब ४ करोडको व्यापार गरेको ँलुट’ र ३ करोडजतिको कारोबार गरेको ँचपली हाइट’ ले नयाँ स्वाद दिए । त्यसैले तिनलाई दर्शकहरूले रुचाए पनि । तर त्यसपछि समस्या के भइदियो भने बलिउडको ँकपी’ गर्नेहरूले ँलुट’ कै जस्ता कथावस्तु, संवाद र प्रस्तुतिको नक्कल गरिदिए र प्रायः सबै लगानी पनि उठाउन नसक्ने गरी डुबे । दर्शकहरू नक्कल होइन, नवीनता चाहन्छन् भन्ने कुरालाई सिनेकर्मीहरूले आत्मसात् गर्नैपर्छ । त्यसबाहेक निर्माता/निर्देशकहरूले नेपाली बजारको प्रकृति, दर्शकहरूको मनोभाव, चलचित्र प्रवर्द्धनका बजार-कौशलहरू पनि जान्न/बुझ्न जरुरी छ ।
नेपाली फिल्मी क्षेत्रको स्तरोन्नतिका निम्ति राज्य तहबाट गर्न सकिने काम पनि हुन सकेको छैन । खासगरी यसैका निम्ति खडा गरिएको चलचित्र विकास बोर्डले अपेक्षित प्रभावकारी भूमिका खेल्न सकेको छैन । सञ्चार मन्त्रालयमातहत रहेको यो निकाय न स्वायत्त छ, न त उससँग आवश्यक स्रोत-साधन, जनशक्ति र संरचना छ । यसलाई सही किसिमले मार्गनिर्देशन गर्ने व्यवस्था मिलाउनुपर्छ । अन्यत्रझैं हामीकहाँ पनि स्तरीय फिल्महरूलाई सरकारी तहबाटै संरक्षण/प्रोत्साहन दिने व्यवस्था गरिनुपर्छ । तर, यसका निम्ति आवश्यक चलचित्र नीति नै अहिलेसम्म बन्न सकेको छैन । पहिलोपटक चलचित्रकर्मी यादव खरेल नेतृत्वको एउटा कार्यदलले यसको मस्यौदा तयार पारे पनि त्यसलाई अन्तिम रूप दिन सकिएको छैन । थप परामर्श र छलफल गरेर सरकारले यसलाई जारी गर्नुपर्छ ।
अहिलेकै अवस्थामा नेपाली फिल्महरूले रातारात विदेशी प्रतिस्पर्धीलाई पछाडि पार्न वा तिनले भन्दा ज्यादा व्यापार गर्न सक्ने धरातल त छैन, तर प्रभावकारी चलचित्र नीति बनाउने र मुख्यतः मौलिक फिल्महरूको निर्माण हुन थाल्ने हो भने दर्शकहरूको रुचि निश्चय पनि स्वदेशी स्वादतर्फै बढ्ने छ ।
नेपाली चलचित्र चल्ने सर्त
Powered by Blogger.
0 comments
Write Down Your Responses