जाडो बढेपछि छिबाङको मुग्लुखोला किनारको ओडारमा बस्दै आएका वादी परिवारहरूको दैनिकी कष्टकर बनेको छ । घरजग्गा नहुँदा उनीहरू तीन वर्षदेखि ओडारमा बस्दै आइरहेका हुन् ।
जाडोका कारण बिचल्ली भएपछि वादीहरू दिनहुँ सदरमुकाममा आई राहतका लागि धाउने गरेका छन् । ११ जनाको परिवारमा बस्दै आएका उनीहरू जाडोका कारण राम्ररी सुत्न नपाउने गरेको बताउँछन् । ओडारमा बस्दै आएका राजु बादीले एकसरो कपडा ओडेर सुत्नुपर्ने भएकाले कहिलेकाहीं जाडोले राति नसुतिकनै आगो ताप्दै जाग्राम बस्ने गरेको बताए ।
उनले पालोपालो सुत्नुपर्ने बाध्यता भएको जनाए । जाडोका कारण नदीमा माछा मार्न पनि समस्या भएकाले मागेर खानाको जोहो गर्नुपरेको उनले जनाए । जाडो अत्यधिक भएपछि १६ जनाको परिवारले भने यहाँबाट चौरजहारी बसाइँ सारेका छन् ।
चिसो बढेपछि निमोनिया, ज्वरो लगायत समस्या देखिन थालेका छन् । 'न लगाउने तातो कपडा छ न त तातो वासस्थान नै,' ओडारमा बस्दै आएकी चिमी बादीले भनिन्, 'जाडोमा झन् समस्या छ ।' बालबालिकाहरू मात्रै होइन व ृद्धहरूमा समेत हातखुट्टा सुन्निने ज्वरो आउने जस्ता समस्या देखिएका छन । ६५ वर्षीय सर्जन बादी चिसोले बचाउँछ कि लिन्छ भन्दै रात कटाउने गरेको बताउँछन् । चिसोले यो वर्ष नै ज्यान लिने त्रास रहेको उनले बताए ।
' हामीलाई त यहाँ बस्न साह्रै गाह्रो भयो,' उनले भने, 'सरकारले कुनै वैकल्पिक व्यवस्था गरिदिए हुन्थ्यो ।' सबैले सहयोग गर्ने आश्वासन दिए पनि सहयोग नगरेको उनले बताए । उनीहरूलाई वरपरका डाँडाहरूमा हिमपात र ओडार आसपासमा बाक्लो तुसारो पर्न थालेपछि थप समस्या भएको छ । जाडोका कारण सबैका हातखुट्टा फुटेका छन् भने दिनहुँ बिरामी पर्ने गरेका छन् । चिसो भुईंमा एकसरो कपडा ओछ्याएर सुत्ने गरेकोले बादीहरूलाई समस्यै समस्या छ ।
:: गृहपृष्ठ » फिचर » ओडारमा जाडोले सास्ती
Powered by Blogger.
0 comments
Write Down Your Responses