सरकारी ढुकुटीमा पैसा थुप्रियो

सरकारी ढुकुटीमा पछिल्लो समय निरन्तर रूपमा पैसा थुप्रिन थालेको छ। विकास निर्माण कार्यले गति लिन नसकेका कारण लक्ष्यअनुसार सरकारी रकम खर्च हुन नसक्दा यस्तो समस्या आएको हो। यसले सरकारको खर्च गर्न सक्ने क्षमतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ।
एक सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७०⁄७१ को तीन महिनासम्ममा नगद प्रवाहमा आधारित सरकारी बजेट ३२ अर्ब ६२ करोडले वचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट १० अर्ब ९४ करोडले वचतमा रहेको थियो।
नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार यस अवधिमा स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले सरकारी बजेट वचतमा रहेको हो। उक्त तथ्यांकअनुसार समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ७ दशमलव २ प्रतिशतले वृद्धि भई ५७ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च १३ दशमलव ४ प्रतिशतले वृद्धि भई ५३ अर्ब २९ करोड पुगेको थियो। अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले आर्थिक वर्षको शुरूका केही महिना स्वाभाविक रूपमा विकास खर्चमा कमी आउने बताउनुभयो।
यस अवधिमा आयोजना स्वीकृतिमा हुने ढिलाइ, वर्षात्को समय, पर्वको मौसम आदिजस्ता कारणले लक्ष्यअनुसार सरकारी खर्च हुन अप्ठ्यारो पर्ने गरेको उहाँको भनाइ छ। यसअघि लक्ष्यअनुसार खर्च हुन नसकेको भए पनि आगामी दिनमा यसमा तीव्रता आउने उहाँले बताउनुभयो।
सरकारी तथ्यांकअनुसार समीक्षा अवधिमा चालू खर्च ४५ दशमलव ६ प्रतिशतले वृद्धि भई ५४ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ दशमलव ९ प्रतिशतले घटेको थियो। चालू वर्षको वार्षिक बजेट समयमा सार्वजनिक भएको तथा संविधानसभा निर्वाचनको तयारीमा भएको खर्चका कारण चालू खर्चमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीका अनुसार यस अवधिमा पँुजीगत खर्च ४२ दशमलव ३ प्रतिशतले वृद्धि भई २ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पँुजीगत खर्च ७ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। चालू वर्षको वार्षिक बजेट समयमा सार्वजनिक भएको कारण पँुजीगत खर्चको वृद्धिदरमा विस्तार भएको त्यसमा उल्लेख छ।
आर्थिक वर्ष २०७०⁄७१ को तीन महिनासम्ममा नेपाल सरकारको राजस्व परिचालन भने २६ दशमलव १ प्रतिशतले वृद्धि भई ७२ अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३१ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब ४५ करोड पुगेको थियो। समीक्षा अवधिमा भन्सार राजस्वको वृद्धिदरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य कमी आएको कारण समग्र राजस्वको वृद्धिदरमा कमी आएको हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.