भूमिगत समूहका अध्यक्ष भगतसिंह पक्राउ

१४ मंसिर, नेपालगञ्ज । तत्कालिन सरकारसंग शान्ति वार्ता गरी हतियार बुझाएका जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका अध्यक्ष भगत सिंह बाँके पक्राउ परेका छन् । उनलाई नेपाल-भारत सिमावर्ती शहर रुपैडिहाबाट नियन्त्रणमा लिइएको प्रहरी निकट स्रोतले बतायो । यद्यपी प्रहरीले उनको पक्राउ बारे औपचारिक पुष्टि भने गरेको छैन ।
सिंह शान्ति प्रकृयामा आइ हतियार बुझाइसकेको अवस्था र सरकारद्वारा उनीबिरुद्धको मुद्दा फिर्ता नभएको कानूनी अड्चनको कारण सीमापारी रुपैडिहा बजारमा अस्थायी डेरा गरी बस्दै आएका उनलाई प्रहरीले सादा पोषाकमा डेराबाटै नियन्त्रणमा लिएको स्रोतले बतायो ।
संविधान सभाको निर्वाचनको मनोनयन अघि मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)सँग पार्टी एकताको सहमति समेत गरिसकेका सिंह कानूनी अड्चनका कारण सीमावर्ति भारतीय बजार रुपैडियामा बस्दै आएका थिए ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो । सिंहका परिवारले भने शान्ति प्रक्रियामा आइसकेका उनको जीवनरक्षाका लागि मानवअधिकारकर्मीसँग सहयोगको अपिल गरेका छन् ।
आफू र जेलमा रहेका आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता भए संविधानसभा निर्वाचनमा उम्मेदवार हुने इच्छा देखाएका सिंहका उनको समूहले वार्ता टुंग्याएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना समेत दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.