सुन आयात ५० प्रतिशत घट्यो चाँदी भने दोब्बरले वृद्धि अभावले सुनको मूल्य तोलाको १ हजार रुपैयाँभन्दा बढीमा बिक्री

मंसिर १४ - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा छिटोछिटो उत्तारचढाव देखिएपछि आयात झन्डै ५० प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ को पहिलो तीन महिनामा करिब ३ अर्ब ५६ करोड १० लाख रुपैयाँको सुन आयात भएको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ४९ दशमलव ६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०६९/७० को अघिल्लो ३ महिनामा करिब ७ अर्ब ६ करोड रुपैयाँको आयात भएको थियो ।
व्यवसायीका अनुसार केही महिनाअघि सुनको मूल्यमा धेरै घटबढ भएकाले आयातमा कमी आएको हो । 'सुनको मूल्यमा उत्तारचढाव हुँदा बजारमा धेरै अन्योल भयो । मूल्य बढेका बेला गहना बिक्री भएन फिर्ता आयो,' सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, 'यसले गर्दा आयात घटेको हो ।' महासंघका अनुसार सुनको मूल्य जेठमा तीन वर्षयताकै न्यून तोलाको ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसबेला अन्तर्राष्ट्रिय बजारमा भाउ अगस्त २०१० कै हाराहरीमा झरेको थियो । त्यसपछि लगातार बढेको सुन भदौमा एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको थियो । त्यसबेला सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँ थियो । त्यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
उपभोक्ताको आर्थिक स्थिति पनि कमजोर भएकाले मागमा कमी भएको पूर्वअध्यक्ष शाक्यले बताए । 'संविधानसभाको चुनावको बिदा र राजनितिक अस्थिरता, बन्दले पनि आयातमा धेरै असर गर्‍यो,' उनले भने । 
महासंघका अध्यक्ष मणिरत्न शाक्यले अघिल्लो वर्षको तुलनामा कोटा कमी भएकाले आयात कमी भएको बताए । 'अघिल्लो वर्ष सुनको कोटा दैनिक २५ किलोसम्म पुगेको थियो, 'अध्यक्ष शाक्यले भने, 'तर अहिले ३ महिनाका लागि मात्र २० किलो छ । नभए १५ किलो मात्रै हो ।' राष्ट्र बैंकले वाणिज्य बैंकलाई मात्रै एकाधिकार दिएकाले पनि आयात घट्नुको मुख्य कारण भएको उनको भनाइ छ । 'बैंकले किलोमै २८ हजार रुपैयाँसम्म थप मूल्य लिने गरेका छन् । यसले गर्दा व्यवसायीले सुन उठाउन छाडेका छन् । सुन बैंकमै थुपि्रएपछि बैंकले कम मगाउन थालेका हो,' अध्यक्ष शाक्यले भने ।
सुनको आयातमा कमी भए पनि चाँदीको आयात भने अत्यधिक बढेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ को अघिल्लो ३ महिनामा २ अर्ब ६० करोड १२ लाख रुपैयाँको चाँदी आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा २ सय ६ दशमलव ८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ६९/७० को अघिल्लो ३ महिनामा  ८४ करोड ७९ लाख रुपैयाँको आयात भएको थियो ।
गहना मुख्यतः दुबईबाट आयात हुन्छ । राष्ट्र बैंकको नियमअनुसार क वर्गका वाणिज्य बै‌कले पालो मिलाएर सुन आयात गर्न पाउँछन् । ती बैंकले दैनिक १५ किलोमात्रै सुन बजारमा बेच्छन् । यसरी मुलुकमा भित्रिएको सुन गहना व्यवसायीहरूले सुन चाँदी व्यवसायी महासंघको सिफारिसमा किन्ने गर्छन् । मुलुकमा १२ हजारभन्दा बढी गहना व्यवसायी छन् । उनीहरूका अनुसार सिफारिस अनुसार महिनामा करिब २ दिन मात्र सुन किन्न पाइन्छ ।
एक पटकमा बैंकले ५ सय ग्राम मात्र दिन्छ । चाडबाडमा सुन अभाव हुन नदिन बैंकले भदौ १ गतेदेखि लागू हुने गरी मंसिर मसान्तसम्म कोटा बढाएर दैनिक २० किलो पुर्‍याएको छ । तर गहना व्यवसायीका अनुसार बिहेको सिजनमा सुनको माग दैनिक ३५ किलोभन्दा बढी छ । 'मंसिर ९ गतेदेखि गहनाको कारोबार ह्वात्तै बढेको छ,' पूर्वअध्यक्ष शाक्यले भने, 'यतिखेर दिनकै ३५ किलो सुनको कारोबार हुन थालेको छ ।' उनका अनुसार माघ, फागुन महिनामा सुनको दैनिक माग करिब ४५ केजीसम्म पुग्छ । बजारमा कारोबार बढ्नु जति सकारात्मक छ त्यति नै सरकारी कोटाभन्दा बढी सुन उपलब्ध हुनुले तस्करीलाई प्रोत्साहन दिइरहेको पनि देखाउँछ ।
राष्ट्र बैंकले निर्देशन नै जारी गरेर दिनको २० किलोभन्दा बढी सुन बजारमा पठाउन नपाइने व्यवस्था गरेको छ तर चाडबाड र विवाहको सिजनमा सुनको माग बढ्छ र त्यसलाई चीनबाट सजिलै तस्करीका माध्यमबाट आउने पहेंलो धातुले परिपूर्ति गरिदिन्छ । कोटाभन्दा माग बढी भएपछि बजारमा  तोलामै १ हजार रुपैयाँभन्दा बढीमा सुन खरिद बिक्री भएको एक व्यवसायीले बताए । 'सिजन भएकाले बजारमा अभाव  छ । अभावले कालोबजारी पनि बढो छ,' एक गहना व्यवसायीले भने, 'तोलामै १ हजार रुपैयाँसम्म बढी लिएर सुन बिक्री भएको छ ।'  दसैं, तिहार, माघ, फागुन, मंसिर सिजनका महिना मानिन्छन् ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.