प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको दावी ! सुशीललाई पहिलो प्राथमिकता, देउवा मौन
१३ मंसिर, काठमाडौं । संविधानसभा निर्वाचनमा ठूलो पार्टी बनेको नेपाली कांग्रेस आफ्नो नेतृत्वमा समतीय सरकार गठनको कसरतमा लागेको छ । तर, उसले कसैलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छैन ।
कांग्रेसमा पार्टी सभापति सुशील कोइरालासँगै वरिष्ठ नेता शेबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका तीन दावेदार हुनुहुन्छ । भावी प्रधानमन्त्रीको हुने भन्नेबारे पार्टीमा औपचारिक छलफल नथालेको कांग्रेसमा आन्तरिक लविङ भने तिब्र छ ।
पार्टी सभापति भएकाले सभापति कोइरालाको दावेदावी स्वभाविक रुपमा पहिलो देखिन्छ । संविधानसभा निर्वाचन अघि सहमतीय सरकार गठनको पहल गर्दा पनि कांग्रेसले कोइरालालाई नै उम्मेदवार बनाएको थियो । ‘सभापतिलाई उम्मेदवार बनाउने निर्णयलाई हामीले अहिले उल्टाइसकेको अवस्था छैन’ कोइराला निकटका एक नेताले भने-’स्वभाविक रुपमा सभापतिकै नेतृत्वमा सरकार गठनको पहल हुन्छ ।’
कोइरालासँगै उपसभापति रामचन्द्र पौडेलले पनि सरकारको नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नु भएको छ । अघिल्लो संविधानसभामा १७ पटकसम्म चुनाव हुँदा आफूलाई लडाएको भन्दै पौडेलेले पार्टीले नेतृत्व गर्ने अवस्था आउँदा आफूले पाउनु पर्ने दावी गर्नु भएको छ । ‘अहिले रामचन्द्र दाइले बढी इच्छा देखाउनुभएको छ’ एक केन्द्रीय सदस्यले भने-’१७ पटकसम्म हार्दा मलाई पठाउने, अनि अहिले अरुले नेतृत्व गर्ने भन्ने उहाँको तर्क छ ।’
देउवा मौन
सभापति कोइराला आफैं अग्रसर भएपछि प्रधानमन्त्रीका दावेदार मध्येका एक वरिष्ठ नेता शेरबहादुर देउवा भने मौन जस्तो देखिनु भएको छ । कोइरालाले सरकारको नेतृत्व गर्ने अवस्था आए समर्थन गर्ने तर, पार्टी नेतृत्व आफूले पाउनु पर्ने देउवाको दावी छ । ‘सभापति प्रधानमन्त्री हुने हो भने हाम्रो समर्थन रहन्छ’ देउवा निकटका एक केन्द्रीय सदस्यले भने-’तर, अन्यतिर जाने हो भने उहाँको पनि दावी रहन्छ ।’
नेताहरुको आन्तरिक तयारी हेर्दा प्रधानमन्त्रीको उम्मेदवार बन्ने बाटोका रुपमा रहेको संसदीय दलको नेता चयनमा कांग्रेसमा मतदान हुनसक्छ । प्रत्यक्ष निर्वाचितमा कोइराला र देउवा दुबैले आफ्नो बहुमत भएको दावी गरेका छन् । तर, समानुपातिकको छनोटमा कोइरालाको हात माथि पर्ने पक्का छ ।
0 comments
Write Down Your Responses