इजरायल जान भारतीय पासपोर्ट, संख्या ८ सयभन्दा बढी नेपाली भारतीय पासपोर्टका
२० मंसिर, काठमाडौं । शेर्पा थरका नेपाली नागरिक एक वर्षअघि ‘श्रीमतीको शव नेपाल पठाउन सहयोग गरिदिनुपर्र्यो’ भन्दै इजरायस्थित नेपाली दूतावास पुगे । दूतावासले कागजात माग्यो । शेर्पाले श्रीमती नेपाली नै भए पनि राहदानी भारतीय भएको बताए । उनको आफ्नो राहदानी भने नेपाली नै थियो ।
भारतीय राहदानीबाहकको शव नेपाली दूतावासले पठाउन नमिल्ने जवाफ दिएपछि उनी त्यहीँको भारतीय दूतावास पुगे । श्रीमतीको राहदानीमा ठेगाना दाजिलिङ लेखिएको थियो । भारतीय दूतावासले शव त्यही ठेगानामा पठायो । त्यहाँबाट नेपाल ल्याई अन्त्येष्टी गरियो । शेर्पा अहिले इजरायलमै छन् ।
एक बर्षअघिको यो घटनाले नेपालीहरु दलालमार्फत भारतीय राहदानी प्रयोग गरी इजरायल गइरहेको खुलासा भए पनि जाने क्रम रोकिएको छैन् । इजरायलले वैधानिक रुपमा नेपाली कामदारको प्रवेशमा रोक लगाएपछि दलालहरुले यस्तो बाटो अपनाएको हुन, जुन पछिल्लो समय अझै बढेको नागरिक दैनिकमा खबर छ ।
भारतीय राहदानीमा इजरायल पुग्ने नेपालीको संख्या ८ सयभन्दा माथि रहेको इजरायलमा कार्यरत नेपाली कामदारहरुले बताएका छन् । इजरायल पुर्याइदिएबापत दलालले प्रत्येक नेपालीसँग १० देखि १४ लाख रुपैयाँसम्म दिने गरेको खुलेको छ ।
‘राम्रो कमाई हुन्छ भनेर श्रीमान्ले बोलाएर यहाँ आएको ,’ दुईमहिनाअघि भारतीय राहदानीमा इजरायल पुगेकी झापा, दमककी एक महिलाले फोनमा भनिन्, ‘दुई महिनामा दलालले भारतीय राहदानी बनाइदिए, खर्च धेरै नै लाग्यो ।’
उनका श्रीमान पनि भारतीय राहदानीमै दुई बर्षअघि इजरायल पुगेका थिए । आफ्नो वास्तविक उमेर २७ वर्ष भए पनि राहदानीमा उनले ३७ बनाएकी छन् । ‘उमेर बढी देखाउँदा छिटो भिसा लाग्ने र राम्रो काम पाइने भनेर दलालले बनाइदिएको,’ उनले भनिन् ।
सन् २००९ मै भारतीइ राहदानीमा इजरायल पुगेका तामाङ थरका एक व्यक्तिले ‘जति पैसा खर्च गर्नुपरे पनि एक वर्षमै लगानी उठ्ने’ बताए ।
0 comments
Write Down Your Responses