सडक विस्तार नसकिँदै भत्काउने तयारी, अख्तियारले छानबिन थालेपछि रात्रिबस सेवा रोकियो
चाँडै विस्तार सम्पन्न भई चौडा र चिल्लो सडकमा गुड्न पाइने आसमा रहेका उपत्यकाबासीलाई दुःखको खबर छ । विस्तार सम्पन्न हुने मिति त अनिश्चित छ नै, बनेका सडक खनेर खानेपानी र ढलको भूमिगत पाइप बिछ्याउने प्रक्रिया मात्र अघि बढेको छ । खानेपानीका लागि उपत्यकाका ४० प्रतिशत सडक खन्नुपर्छ ।
नगर विकास प्राधिकरणले अहिलेसम्म १ सय ५ किमी सडक छेउका संरचना भत्काएर नयाँ निर्माणका लागि सडक विस्तार विभागलाई जिम्मा दिएको छ। उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलका अनुसार ३३ किमि निर्माण सम्पन्न भएको छ । भने ५४ किमी सडक चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य छ । बाँकीको ठेक्का सम्झौता हुने क्रममा छ, जसको निर्माण आगामी वर्ष सम्पन्न गर्ने भनिएको छ । अहिलेसम्म सडक विस्तारका लागि एक तिहाइ मात्र संरचना भत्काइसकिएको प्राधिकरणका नियोजक भाइकाजी तिवारी बताउँछन् । ‘यही गतिमा त दुई तिहाइ संरचना भत्काएर सडक विस्तार सक्न कति समय लाग्छ भन्नै सकिन्न,’ उनी भन्छन् ।
विस्तार चलिरहेकै बेला खानेपानी पाइप विछ्याउनका लागि सडक खन्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल)ले अनुमति मागिसकेको कान्तिपुर दैनिकमा खबर छ । मेलम्चीको पानी वितरणका लागि एसियाली विकास बैंक -एडीबी) को ऋण सहयोगमा ७ सय किमि पाइप विछ्याउने योजना आगामी वर्ष सुरु हुँदैछ । एडीबीकै सहयोगमा उपत्यकाको ढल विस्तारको कागजी काम पनि भइरहेको छ । जसको काम २ वर्षपछि मात्र सुरु हुनेछ । तर ढलका लागि विष्णुमती, हनुमन्ते र धोवीखोलाका सडक किनारका सडक खन्नुपर्ने उनले बताए ।
अख्तियारले छानबिन थालेपछि रात्रिबस रोकियो
अख्तियारले महानगरद्धारा सञ्चालित रात्रिकालिन बसको सम्झौताबारे छानबिन थालेपछि सञ्चालन बन्द भएको छ । टेन्डर आह्वान नगरी महानगरले एकलौटी रुपमा एउटै यातायात व्यवसायीलाई सञ्चालन अनुमति दिएको उजुरी परेपछि आयोगले छानबिन थालेको हो ।
छानबिन सुरु भएपछि व्यवसायीले पनि सञ्चालनमा लापरबाही गरेको महानगर स्रोतले बतायो । ‘उसले विभिन्न बहानामा बन्द गर्न खोज्दै थियो, फाइल लगेपछि त झन् सजिलो भयो,’ स्रोतले भन्यो । महानगरका प्रवक्ता शान्ताराम पोखरेलले भने केही दिनपछि पुनः सञ्चालनमा ल्याइने बताए । ‘वातावरण बनाउँदैछौं,’ उनले भने । एक वर्षअघि तत्कालीन स्थानीय विकास मन्त्री नारायणकाजी श्रेष्ठले आफै चढेर रात्रिवस उद्घाटन गरेका थिए ।
0 comments
Write Down Your Responses