»
ढलबाट यसरी भागे कैदी
ढलबाट यसरी भागे कैदी
काठमाडौं, मंसिर ३० - सुरक्षा व्यवस्था कमजोर भएको फाइदा उठाउँदै ढलबाट भागेका कैदी सुरज सिंह रक्सौलबाट पक्राउ परेका छन् । केन्द्रीय कारागार सुन्धारामा लागूऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका सिंहले ७ घन्टाको प्रयासमा ढलबाट करिब ५ सय मिटर पार गरेका थिए ।
यस अवधिमा उनको खोजी नहुनु र ढलबाट बाहिर निस्केपछि फर्पिङ नाका हुँदै वीरगन्ज पुग्दा पनि पक्राउ गर्न नसक्नुले प्रहरीको नाकाको जाँच कमजोर रहेको पुष्टि भएको छ । उनी फरार भएलगत्तै उपत्यका बाहिरिने सबै नाकामा फोटोसहितको विवरण पठाइएको थियो । तर, भाडाको टाटो सुमो चढेर जाँदा पनि उनलाई नाकामा प्रहरीले नियन्त्रण गर्न सकेन । यसले पनि उपत्यका प्रवेश गर्ने नाकाको सुरक्षा अवस्थामा रहेको कमजोरी प्रस्ट हुन्छ ।
'नाकाको प्रहरीले सुरक्षामा गम्भीरता नदिएको हो कि भन्ने लागेको छ,' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले भने, 'यस विषयमा अनुसन्धान भइरहेको छ, सुरक्षामा गम्भीरता नलिनेलाई कारबाही हुन्छ ।'
२६ मंसिरको बिहान १ बजे जेलको ढलबाट भागेका उनको भोलिपल्ट साढे ७ बजेमात्र खोजी भएको थियो । प्रहरी मुख्यालयको बुलेटिनमा पनि २६ मंसिरको बिहान भागेको उल्लेख थियो । तर, सिंहलाई पक्राउपछि लिइएको बयानमा बिहान १ बजे भागेको उल्लेख छ । सर्लाही रघुवा ५ का सिंह ४ असार ०६९ देखि जेल सजाय भुक्तान गरिरहेका थिए । उनलाई २ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो । उनले जरिवानासहित ६ वर्ष कैद भुक्तान गर्नु पथ्र्यो । डेढ वर्ष भुक्तान गरिसकेका थिए ।
उनी थुनामा पर्नुअघि वीरगन्ज-काठमाडौं चल्ने सौदागर बसको खलासी रहेको प्रहरीले जनाएको छ । जेल परेपछि पनि उनले मुढा बनाउने काम गरे । भाग्नुअघि लुगा धुने काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । '१ लाख जरिवाना तिर्ने पैसा नहुनु, अझै साढे ४ वर्ष जेल बस्नुपर्ने र वीरगन्जमा उनको आमा हत्या गर्नेलाई बदला लिन उनी भागेको देखिन्छ,' पालले भने ।
यसरी भागे
यसअघि एक कैदी पिसाब फर्ने ठाउँबाट छिरेर कारागार नजिकको फ्याक्ट्री छेउबाट निस्केको उनीहरूले थाहा पाएका थिए । २० मंसिरमा सुरज सिंह, बच्चा शाह र रवि चौधरी मिलेर ढलबाट भाग्ने योजना बनाए । पहिलो योजना रवि र सुरजबीच तय भयो । त्यसमा बच्चालाई पनि सहभागी गराए । सबैले भाग्ने निर्णय गरे । २५ मंसिर मध्यरातिदेखि ३ जना कुराकानी भयो । चिया, पानी खाए । १ बजे राति सुरज ढलमा छिरे । रवि र बच्चाचाहिँ कोही आउन सक्ने भन्दै शौचालय छेउमा कुरेर बसे । सुरजलाई बाटो 'क्लियर' गरेर आउनु अनि सबै जाउँला भनेका थिए । तर, उनी फर्केनन् ।
पिसाब फेर्ने ठाउँ नजिकबाट ढलभित्र टर्च बोकेर पसे । ढलको पानी हुँदै भित्रको फोहोर पन्छाउँदै अगाडि बढे । ढल हुँदै यसअघि पनि कैदी भागेपछि बीच-बीचमा डण्डी राखेर बार लगाइएको थियो, ३ ठाउँमा रड भेटे । एक ठाउँमा रड भत्काउन २ देखि ३ घन्टा लगाए । भित्र छिर्दा टाउकोमा चोट लाग्न सक्ने भएकाले पट्टी बाँधेर छिरेका थिए । उनी ठाउँ-ठाउँमा रडको बार भत्काउँदै, आराम गर्दै बाहिर निस्के । घिसि्रएर बाहिर निस्किँदा छाती र कुइनामा चोट लागेको छ ।
पशु सेवा निर्देशनालय छेउको मंगलको ढक्कनबाट निस्किन खोजे । ढकन नखुलेपछि छेउको पर्खाल सामान्य तरिकाले फोडेर बिहान ८ बजे बाहिर निस्के । निर्देशनालयको क्वाटरमा सुष्मा मरासिनीले ट्युबेलमा नुहाउँदै गर्दा देखिन् । पशु सेवा कार्यालयभन्दा अघि नै २ ठाउँमा सजिलै निस्किने ढक्कन देखे । तर, प्रहरीले पक्राउ गर्न सक्ने भन्दै प्रयास गरेनन् । कर्मचारीले को हो भनेर परिचय माग्दा ढल सफा गर्न आएको भनेर ढाँटे । सुरजले पेन्ट दिनुस् न दिदी तपाईंलाई धर्म हुन्छ भनेपछि एउटा पुरानो कालो जिन्स पेन्ट दिइन् । त्यसपछि हिंडै टेकु पुगेर ट्याक्सी लिए र सर्लाहीका एक दाइ नाता पर्ने सुवास सिंहको बालाजुस्थित कोठामा पुगे । उनका साथमा मुढा बनाएको र लुगा धोएको ९ सय रुपैयाँ थियो ।
उनले त्यहाँ आफू जेलबाट छुटेर आएको भन्दै ढाँटे । शरीरमा घाउचोट दुर्घटनामा परेको भनेर झुक्याए । सुवासले दिएको कपडा लगाएर २/३ घन्टापछि कोठाबाट निस्के । त्यसपछि पैसाको बन्दोबस्तीका लागि गौशाला गएर लागूऔषध कारोबार गर्दा चिनजान भएका २ साथीलाई सम्पर्क गरेर भेट्न खोजे । तर, उनीहरूले मानेनन् । उनले जेलभित्रबाट पनि उनीहरूसँग पैसा माग्ने गरेको खुलेको छ । गौशालाबाट सातदोबाटो हुँदै पुनः बालाजुस्थित कोठामा पुग्दा सुवासलाई भेटेनन् । त्यसपछि कलंकी खोला किनारमा लुकेर रात कटाए । भोलिपल्ट बिहान -२७ मंसिर) बल्खुबाट टाटा सुमो चढेर फर्पिङ हुँदै वीरगन्ज पुगे । बाटोमा प्रहरी जाँचमा नचिनियोस् भनेर मुखमा माक्स र चस्मा लगाएका थिए । कसैले नाम सोध्दा सुरज सिंह नभनी राजपाल चौधरी भने । उनले भारत जान पैसा आवश्यक भएकाले साथीहरूलाई 'ल्यान्डलाइन'बाट फोन गरेर पैसा मागे । प्रहरीले त्यसकै आधारमा उनलाई पक्राउ गरेको हो ।
(प्रहरीलाई दिएको बयानका आधारमा)
Labels:
0 comments
Write Down Your Responses