सलमान बन्दा पनि चलेनन् आर्यन, ‘अनलक्की कि फापेन सिने नगरी’ ?

नायक आर्यन सिग्देल पछिल्लो समयमा नेपाली सिनेमाका अनलक्की हिरोको रुपमा देखिन थालेका छन् । उनले आशा गरेका थुप्रै सिनेमाले व्यापार नगरेपछि आर्यनको सिने करिअर पनि धरमराएको देखिन्छ ।नायक आर्यन सिग्देलले बलिउडका दबंग खान सलमानलाई अनुशरण गर्दै अभिनय गरेको चलचित्र ‘लोफर’ले पनि दर्शक हलसम्म नतानेपछि उनी अनलक्की बनेको देखिन्छ । छविराज ओझा जस्ता माहिर निर्माताको ब्यानरमा देखिएका आर्यनलाई न त मल्टिप्लेक्स न त सिंगल थिएटरका दर्शकले नै पत्याउन सके । बजारमा ‘लोफर’ नचल्नुको दोष आर्यनलाई दिन थालिएको छ । आर्यन सलमान खानको फ्यान भएकाले लोफरमा उनलाई सलमानले ‘दबंग’ सिनेमामा गरेको याक्सन स्टाइलकै भूमिका दिएको निर्माता छविराज ओझाले नै बताएका थिए ।
उनले अभिनय गरेका ४ सिनेमाले यो बर्ष हावा खाएका छन् । जसका कारण पनि स्टारडमको संभावना बोकेका आर्यन निर्माताको लागि फाप्न छोडेका छन् । उसो त नायिका रेखा थापासँग अभिनय गरेका केही सिनेमा भन्दा बाहेक आर्यनका कुनै पनि चलचित्रले व्यापारिक रुपमा कमाल मच्चाउन सकेको छैन ।
नेपाली सिनेमाका केही चर्चित वितरकहरुले पनि आर्यनले स्टारडम बचाउन नसकेको गुनासो गर्दै आएका छन् । यही कारणले पनि आर्यनका लागि सिने नगरी असुरक्षित बन्दै गएको देखिन्छ । उनले आफ्नै ब्यानरमा निर्माण गरेको ‘नोभेम्बर रेन’ यो बर्षको अन्त्यमा प्रदर्शनमा आउने तयारीमा छ । यो सिनेमा नै आर्यनको लागि सिने नगरीको भविष्य डोर्‍याउने दह्रो खम्बा बन्ने आशा गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.