सुरक्षित कारोबार ऐन तत्काल लागु गर्न बैंकर्सहरुको आग्रह
३० पुस, काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीहरुले सुरक्षित कारोवार ऐन तत्काल लागू गर्न सरकारसँग आग्रह गरेका छन् । एशोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग भेट गरी बैंकिङ सेवालाई सहज र विवादमुक्त बनाउन ऐन आवश्यक भएको बताए ।
ऐन नहुँदा दोहोरो कर्जा र घरजग्गालाई मात्र धितो बुझ्ने परम्पराका कारण समस्या उत्पन्न भएको उनीहरुको गुनासो छ । एशोसिएसनका अध्यक्ष राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाणिज्य बैंकहरुको पारदर्शी सेवालाई सहकारीसंग दाँजेर नहेर्न समेत आग्रह गरेको छ ।
बैंक सञ्चालकहरुले वर्षेनी सात अरबभन्दा बढी राजश्व बुझाउने वाणिज्य बैंकहरुलाई सरकारले सम्मान व्यक्त गरेर ओझेल परेको छवि सुधार्न मद्दत गर्नुपर्ने बताए ।
सो अवसरमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उत्तरार्द्धमा सरकारले कुनै नीतिगत निर्णय गर्न नसके पनि भएको कानुनले निर्देशित गरेका विषयलाई गम्भीर भएर लागू गर्ने आश्वासन दिए ।
उनले कर्जा सूचना केन्द्र वा सरोकारवाला निकाय मार्फत बैंकर्सहरुका समस्या समाधान गरिने वचन दिए ।
अर्थ सचिव शान्तराज सुवेदीले वाणिज्य बैंकका साझा मुद्दाका विषयमा आफू गम्भीर रहेको र समाधानका लागि तत्काल प्रयास थाल्ने बताए ।
0 comments
Write Down Your Responses