के भरतमोहनले स्वर्ग लैजान यो सब गरिरहेको हो ?

Bharat-mohan
-भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवं एमाले नेता
कम्युनिष्ट नेता मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी एमालेको पहिलो नौ महिने सरकारमा अर्थमन्त्री थिए । पटक-पटक अर्थमन्त्री बनिसकेका अधिकारी दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सभासद चुनिएका एमालेका ज्येष्ठ सभासद हुन् । संविधानसभा निर्वाचनमा एमालेको आर्थिक कमाण्ड सम्हालेका अधिकारीसँग अनलाइनखबरले उनीमाथि लाग्ने गरेका व्यक्तिगत आरोप, एमालेको चुनावी खर्च र संविधान निर्माणका आधार आदि विषयमा कुराकानी गरेको छ ।
आफू कम्युनिष्ट भए पनि गान्धीबाट प्रभावित बताउने अधिकारीले आफू पैसा कमाउन राजनीतिमा नलागेको र अहिलेसम्म काठमाडौंमा डेरामै बस्दै आएको बताएका छन् । युवाहरुलाई उनको सल्लाह छ- पैसा कमाउने भए राजनीतिमा नलाग, उद्योग, या कृषि व्यवसाय गर ।
मारवाडी समुदायका व्यापारीसँग तपाईंको नजिकको सम्बन्ध छ रे नि ?
-बिराटनगरका गोल्छा परिवारसँग मेरो सम्वन्ध बालकालदेखिकै हो । तर, व्यापारीसँग सबैभन्दा कम सम्बन्ध राख्ने मान्छे मै हुँ । मलाई कुनै लोभ छैन, लोभ भएदेखि मैले व्यापारीसँग सम्बन्ध राख्थें । अहिले पनि म एउटै घरमा १५ वर्षदेखि भाडामा बसिरहेको छु ।
पैसा कमाउन मैले राजनीति गरेको होइन । युवापुस्तालाई पनि म त्यही भन्छु । पैसा कमाउने हो भने उद्योग खोल्दा, व्यापार गर्दा खोल्दा राम्रो हुन्छ ।
पैसा कमाउन हिँडेको भए मैले आरामले कमाउने थिएँ । उहिले काठमाडौंमा दुई तीनसय रुपैयाँ प्रतिआना जग्गा पाइन्थ्यो, मैले कलेज पढ्दा ट्युसन पढाएरै मासिक ५/७ सय कमाउँथे । पैसाको पछि लाग्ने भए मैले व्यापारीहरुसँग मिलेर दुई नम्बरी काम गर्नै पर्दैनथ्यो, सहजै कमाउने थिएँ । म कम्युनिष्ट भए पनि गान्धीलाई मान्ने मान्छे हुँ । म पाँचपटक अर्थमन्त्री भइसकेको मान्छे । मन्त्री पदबाट बाहिरिएपछि फर्केर आउने यही डेरामा हो । त्यसैले राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनु देशमाथि खेलवाड गर्नु हो ।
भनेपछि तपाईमाथि लगाइएको आरोप निराधार रहेछ हैन ?
-तपाईले मेरो बारे कुनै केस सुन्नुभएको छ ? ज्ञानेन्द्र शाहको शासनमा शाही आयोग गठन गरेर पनि मलाई फसाउने प्रयास भयो । यदि म पैसाको पछि लागेको भए त मलाई त्यतिखेरै फसाइजान्थे नि । म उमेरले ७७ वर्षको भइसकें, मैले सम्पत्ति कमाएर काठमाडौंमा घर बनाएको भए यतिखेरसम्म कसरी लुक्न सक्थ्यो र ? यदि मैले सम्पत्ति लुकाएको कसैले देखाउन सक्छ भने म दण्डित हुन तयार छु । मैले त्यस्तो गरेको भए त जीवनमा देखिनुपर्‍यो नि । कि भरतमोहनले स्वर्गमा लैजानका लागि यो सब गरिरहेको छ भन्नुपर्‍यो । म त ७७ वर्षको भैसकें । ०५१ सालदेखि २१ वर्ष म मन्त्री भैराखेको छु ।
तर, तपाईंमाथि अर्को आरोप छ कि तपाईंले छोरीहरुका नाममा कलंकीमा, कुपन्डोलमा घर बनाउनुभएको छ रे ?
-मेरा छोरीहरु आफैं आत्मनिर्भर छन् । सबैले जागिर खाएर महिनाको लाखभन्दा बढी कमाइरहेका छन् । उल्टै उनीहरुले मलाई खर्च पठाइदिने गरेका छन् । उल्टै म छोरीहरुसँग निर्भर छु, अनि मैले कसरी सम्पत्ति कमाएको आरोप लाउन मिल्छ ? मेरा छोरीहरुलाई मेरा विदेशी मित्रहरुको सहयोगमा पढाएको हुँ ।
मैले पार्टीमा इमान्दारितापूर्वक काम गरेको हुनाले मलाई फाइदा भयो । छोरी पढाउन मलाई बाहिरबाट सहयोग भयो । मेरी जेठी छोरीलाई इण्डियामा ज्योति बसुले पढाए । ऊ एमबीबीएस भई, एमडी भई । अहिले सिक्किममा प्रफेसर छे, दुलाहा इञ्जिनियर छन्, उनीहरुले ८/१० लाख महिनाको कमाइराखेका छन् ।
माइली छोरीलाई चीन सरकारले पढाइदियो । अहिले ऊ काठमाडौंमा छे, उसले आफैं मासिक ४/५ लाख रुपैयाँ कमाउँछे । ज्वाइँ कृष्ण आचार्य आफैं पनि घरानाका हुन् । कान्छी छोरी दुबईमा छे, उसले पनि महिनाको ४/५ लाख रुपैयाँ कमाउँछे । उनीहरुले बरु मलाई सहयोग गरिराखेका छन् । अस्ति छोरीले मलाई बर्थडेमा मोबाइल किनेर ल्याई । योभन्दा बढी के भन्ने मैले ? एकदिन म यातायात मन्त्री हुँदा के आयो भने सिलगढीमा भरतमोहनले सिक्किममा रहेकी छोरीका नाममा दुई सयवटा ट्याक्सी चलाइरहेको छ भन्ने प्रचार भयो । यो अलि कति डाह र ईष्र्या पनि हो ।
नेपालका नेताप्रति जनतामा किन यति साह्रो नकारात्मक सोच आएको होला ?
-हिन्दूस्तानमा नेताहरुलाई पूज्ने गरिन्छ, तर नेपालमा भने जनताले नेताहरुलाई गाली मात्रै गर्छन् । हाम्रो देशमा पनि त छन् नि २० वर्षसम्म जेल बसेका नेता । वास्तवमा हाम्रो राजनीति विविध कारणले दुषित भएको छ । राजनीतिलाई सेवाका लागिमात्र प्रयोग नगरी कमाइको माध्यम बनाइँदा नेताहरु जनताका नजरमा गिरेका हुन् ।
प्रशंग बदलौं, एमालेले दोस्रो संविधानसभा चुनावमा कति पैसा संकलन गर्‍यो ?
-हामीले झण्डै ७ करोड रुपैयाँ संकलन गरेका थियौं । यसपालि ६ करोड ८० लाख रुपैयाँ चुनावमा खर्च गरेका छौं ।
एमालेले चुनावमा पारदर्शीरुपमा पैसा उठाएन भन्ने छ नि?
-हामीले पारदर्शीरुपमा पैसा उठाएका हौं । रसिद वितरण र बैंकमा खाता खोलेर हामीले पैसा संकलन गरेका थियौं । हामीले संकलन गरेको सबै रकमको हिसाव किताव जनताले बुझ्ने गरी हामी सार्वजनिक गर्छौं । हाम्रो आम्दानी र खर्च विवरण चाँडै निर्वाचन आयोगमा बुझाउन लागेका छौं । एमालेको आर्थिक विभाग प्रमुख भएकाले दाबाका साथ भन्छु, अन्य पार्टी भन्दा पारदर्शिताको सवालमा एमाले एक कदम अगाडि छ ।
हामीले चन्दा संकलन गर्दा मेरो हस्ताक्षर भएको रसिदबाहेक अन्य कुनै वितरण गरिएको छैन । त्यसैले पार्टीमा आएको चन्दा दुरुपयोग नभएको कुरामा तपाईंहरु ढुक्क भए हुन्छ ।
चुनाव पछाडि मैले पार्टीका नेताहरुलाई प्रष्ट भनिदिएको छु, यसपटक आर्थिक सहयोग उठाउँदा बेथिति भएको कुरा । संस्थागतभन्दा बढी नेता कार्यकर्ता र उम्मेदवारले पनि व्यक्तिगत पहलमा चन्दा उठाउँदा एमालेमा आर्थिक अराजकता भएको कुरा पार्टीले गम्भीरतापूर्वक लिएको छ । अहिले एमालेलाई जनताले माया गरेर जसरी एक सय ७५ सिट ल्याएको त्यसलाई कायम गर्ने हो भने हामीभित्रका विकृतिलाई हटाउनै पर्छ । अरुभन्दा राम्रो भए पनि हामी पूरै चोखा छौं भन्ने होइन, त्यसैले देश सुधार्छु भन्ने पार्टीले पहिले आफ्नो घरको विकृति बढार्ने हिम्मत गर्नु जरुरी छ ।
राज्यलक्ष्मी गोल्छालाई कसरी सभासद बनाइयो ?
Bharat-mohan-1-एमालेले ०४७ साल देखि नै सदनमा उद्योगी व्यापारीको प्रतिनिधित्व हुनुपर्ने आवाज उठाउँदै आएको छ । उद्योग वाणिज्य क्षेत्रको आवाज सदनबाट जनतासम्म पुग्नका लागि उनीहरुको प्रतिनिधित्व हामीले चाहेको हो । एमालेले ०४७ सालदेखि नै सदनमा उद्योगी व्यापारीलाई ल्याउँदै आएकाले अहिले पनि सो क्रमलाई निरन्तरता दिइएको हो ।
०६४ सालमा हामीले विनोद चौधरीलाई ल्याएका थियौं । योपटक पहिलो सदनमा आइसकेकालाई नदोहोर्‍याउने भनेपछि राज्यलक्ष्मीलाई ल्याएका हौं ।
राज्यलक्ष्मी उद्योगी परिवारकी महिला हुन्, त्यसमाथि एकल महिला पनि । उनलाई सभासद बनाउने कुरा झलनाथ खनाल र विद्या भण्डारीले प्रसताव गर्नुभएको हो । उनलाई एमालेले पैसाको सौदाबाजी गरेर सभासद बनाएको होइन । उनको सकृयता र सामाजिक पृष्ठभूमिको मूल्याङ्कन गरेर ल्याइएको हो ।
रामकुमारी झाँक्रीलाई किन ल्याउनुभएन त ?
-रामकुमारी झाँक्रीलाई हामीले गुल्मी १ बाट प्रत्यक्षमा चुनाव लड्न भनेका थियौं । रामकुमारी झाँक्रीलाई मैले मात्र होइन, पार्टीले पनि माया गरेको छ । रामकुमारीलाई नल्याई राज्यलक्ष्मीलाई ल्याइयो भन्ने कुरा सर्वथा गलत हो । रामकुमारीजी १३ जना जनजाति महिलाको कोटामा हुनुहुन्थ्यो भने राज्यलक्ष्मी मधेसीको कोटामा त्यसैले यी दुईलाई दाँज्नु मुर्खताबाहेक अरु केही होइन ।
रामकुमारीजत्तिकी खारिएकी राजनीतिक युवाले एकपटक सभासद नहुँदैमा निराश र आक्रोशित हुनुहुन्न । सबैको पालो आउँछ, उहाँले पनि पार्टीमा सकृय भएर लाग्नुभयो भने अर्कोपटक पालो आइजान्छ नि । रामकुमारीजीले मगर जातिबाट आएर जनआन्दोलनमा देखाउनुभएको बहादुरीको पार्टीले उच्च मूल्यांकन गरेको छ । त्यसैले अहिलेको मौका आएन भनेर उहाँले यसलाई जीवनकै अन्तिम अवसर भनेर निराश हुनु बेठीक हो ।
तर, राज्यलक्ष्मीबाट मोरङका केही नेताले पैसा लिएको चर्चा छ नि ?
मैले अघि नै भनिसकें, हाम्रा नेता कार्यकर्ता सबै चोखा छन् भन्ने होइन । योपटक पनि गम्भीर समस्या आएकै हो । हामीले योपटक गरेका कमजोरी सच्याएर जानैपर्छ । नत्र पार्टी विकृतिको दलदलमा फस्छ । पार्टीको चन्दा कसले उठाउने ? त्यो नियम बन्नुपर्‍यो । यदि पार्टी अध्यक्ष वा अरु कसैले व्यक्तिगतरुपमा चन्दा उठाएको पाइए कारवाही गर्नुपर्छ । देश बनाउने भनेर लागेको पार्टीले आफूमा विकृतिको डंगुर राखेर बस्दा कसरी देशको उभो लाग्ला । त्यसैले यसतर्फ हामी गम्भीर हुनैपर्छ ।
तपाई ०४७ सालको संविधान निर्माण पनि संलग्न हुनुहुन्थ्यो, योपटक संविधान निर्माणमा तपाईंको भूमिका कस्तो रहन्छ ?
-०४७ सालको संविधान वामपन्थी, राजावादी र कांग्रेसीहरु मिलाएर बनाइएको हो । ०४६ सालको जनभावनालाई संस्थागत गर्ने गरी ०४७ सालको संविधान निर्माण गरिएको हो । ९ जनाको समिति रहेर पनि हामीले सहमतिका साथ त्यो संविधान बनाएका थियौं । ०४७ को संविधान वामपन्थीहरुको प्रमुख पहलमा बनेको हो । संविधानका केही विषयमा असहमति भए पनि त्यो बेला राजाका अधिकार खोसेर जनतालाई सार्वभौम बनाउने गरी हामीले संविधान जारी गरेका थियौं । बामपन्थी, राजवादी र कांग्रेस मिलेर पनि बन्छ ? भन्ने अवस्थामा हामीले मिलेर संविधान बनाएका थियौं ।
बामपन्थीहरुको आलोचनात्मक समर्थन र राजावादीहरुले नोटअफ डिसेन्ट लेखे पनि हामीले संविधान भने जारी गरेका थियौं । हामीले बनाएको संविधान दुनियाँले स्वीकारेका थिए । राजाले पनि त्यही संविधानलाई सहर्ष स्वीकारेका थिए । त्यसैले अहिले पनि सहमतिका साथ अघि बढे संविधान जारी हुन सक्छ ।
अहिलेको संविधान कसरी लेख्ने त ?
-अब लेखिने संविधानले गणतन्त्रलाई संस्थागत गर्न सक्नुपर्छ । ५० वर्षदेखि जनताले लोकतन्त्रका लागि गरेको बलिदानलाई अब संस्थागत गर्नु जरुरी छ । अब लोकतन्त्रलाई कसैले चलाउन नसक्ने गरी संविधान लेख्नु जरुरी छ । दोस्रो, संविधानसभाको निर्वाचनबाट जनताले जातीय संघीयता, एक मधेस एक प्रदेशजस्ता मुद्दा अस्वीकार गरेको अवस्था छ । जहाँबाट यी नारा उठाइयो, त्यहीँका नागरिकले जातीयताको विपक्षमा मत प्रकट गरेको अवस्था छ । जनतमलाई लिएर संघीयता बनाइनुपर्छ, साझा जातीय पहिचानलाई स्थापित गर्नुपर्छ । स्थानीय निकायलाई शक्तिशाली बनाएर अघि जानुपर्छ । अहिलेको लोकतन्त्र ०४७ सालको जस्तो होइन अब त समावेशी हुनुपर्छ ।
लोकतन्त्र संस्थागत गर्न के गर्ने ?
-राजनीतिक अधिकारमात्र भएर अब पुग्दैन । सुकुम्बासी, हलिया र कृषकहरुको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि ल्याउने संविधान हुनुपर्छ । जनताले अब आर्थिक समृद्धि चाहेका छन्, यो संविधान र गणतन्त्रले घरको जीवनस्तर राम्रो होस् भन्ने जनचहानाको संवोधन गर्न सक्नुपर्छ । अब त्यसतर्फ नजाने हो भने लोकतन्त्र दिगो हुन सक्ने आधार छैन ।
भनेपछि असहमतिका बावजुद संविधान जारी गर्ने होला होइन ?
-संविधानका मूलभूत कुरामा सम्झौता गर्न सकिन्न । जनताले अस्वीकार गरेका एकल जातीय पहिचान र एक मधेस एक प्रदेशलाई स्वीकार्न सकिन्न । नयाँ संविधान जारी गर्दा मोहन वैद्यहरुलाई पनि समेटेर लानु आवश्यक छ । सबैलाई समेटेर संविधान जारी गर्न सकिन्छ । पहिलो संविधानसभामा सहमति नजिक पुगेका बुँदाहरुलाई दोस्रो संविधानसभामा छलफल गरेर अघि बढ्नु जरुरी छ ।
सभासद भएपछि व्यक्तिगतरुपमा तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
-मैले संविधानसभामा गएर त्यहाँ पहिलो संविधानसभाले बनाएका अवधारणापत्रको अध्ययन गर्दैछु । योपटक संविधान बनाउन सबैले मेहनेत गर्नु आवश्यक छ । सहमतिबाटै संविधान बनाउनपर्छ, यदि बनेन भने बहुमतीय प्रणाली त छदैंछ ।
हतारमा अघि बढ्नु हुन्न । पहिलो संविधानसभाले बनाएका अवधारणापत्रलाई संविधानसभामा छलफल गराएर अघि बढ्न सकियो भने सहमतिको नजिक पुग्न सकिन्छ । संविधानसभा आएका नयाँ दलका साथीहरु र संविधानसभा बाहिर भएका साथीहरुको भावनालाई सम्वोधन गर्न सकेमा हाम्रा नाति पुस्तासम्मले संविधानका लागि झगडा गरिरहनुपर्दैन ।
एकवर्षमै संविधान बन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
-चुनाव भएकै दुई महिना भइसकेकाले अब कम्तिमा पनि हाउस शुरु भएको वर्ष दिनमा चाँहि संविधान बनाइसक्नुपर्छ । यदि त्यसो हुन सकेन भने केही महिना समय थपेर जनताको संविधान बनाइनु नै अबको अन्तिम विकल्प हो । यसपटक सबैको बुद्धि पलाएकाले संविधान बन्ने कुरामा म ढुक्क छु ।

0 comments

Write Down Your Responses

Powered by Blogger.